


दाङ, ६ भदौ। लुम्बिनी प्रदेशसभा चौथो अधिवेशनको २७ औं बैठक बिहीबार दिउँसो २ बजे बस्न लागेको छ । बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यो प्रस्तावलाई निर्णयार्थ पेश गर्ने तयारी छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

यस्तै, बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले आचार्यले दिने कार्यसूची प्रकाशित गरिएको छ । अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले औद्योगिक व्यवसाय सम्बन्धि प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रतिवेदन सहितको विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

