
काठमाडौं, १७ भदौ। प्रधानमन्त्री केपी ओलीले चाडपर्वको समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी कार्य गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले दशै तिहार जस्ता चाडपर्वमा खाद्य वस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे ।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन ।’
उद्योग मन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा विषादीयुक्त खाद्य पदार्थ आयात–निर्यात नगर्न आग्रह गरे ।
उनले नेपालमा फलाम, युरेनियम आदि खानीजन्य पदार्थको उत्खनन्को क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता आग्रह गरे ।

