


हृदयराम गुप्ता
मर्चवार, १७ भदौ । रुपन्देहीको मर्चवार क्षेत्र अन्र्तगत कोटहीमाई गाउँपालिका-४ कि प्रतिभा चौधरी गुणस्तरीय शिक्षाका लागि घरबाट ५ किलोमिटर टाढा श्री ठर्की माध्यमिक विद्यालयमा पुग्छिन् । उनको गाउँमै विद्यालय नभएको होइन् । तर, उनले मर्चवारी गाउँपालिका-६ स्थित ठर्कीमा राम्रो अध्यापन हुने गरेको पाएपछि अध्यापनका लागि त्यही विद्यालय रोजिन् । घरबाट टाढा भएपनि शिक्षा प्राप्तीका लागि उनी सधै घरबाट पैदल नै विद्यालय पुग्छिन् । तर, शिक्षा हासिल गर्नका लागि आजभोली उनलाई कठिन भएको छ । उनको शिक्षा प्राप्तीको यात्रामा अवरोध पुगिररहेको छ । किनभने उनको विद्यालय यात्राको बाटोमा रहेको सानो पुल भत्किएको छ ।

‘पहिलो पुल ठिक हुदाँ सहजै विद्यालयमा पुगिन्थयो तर अहिले पुल भत्किएपछि निकै समस्या भएको छ’, कक्षा १० मा अध्यनरत उनी भन्छिन, ‘वैकल्पिक बाटो प्रयोग गरे विद्यालय पुग्न ढिला हुन्छ । पुल बनाइदिने कोही भएन । त्यसैले खेतको आली र हिलाम्मे बाटो प्रयोग गरेर विद्यालय जान बाध्य भएका छौँ ।’ विद्यालय समयमा एकै पटक सोही बाटोमा विद्यार्थीहरुको चाप बढ्दा विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पनि समस्या परेको छ ।
मुख्यसडकबाट विद्यालयमा जानका लागि फराकिलो सडक निर्माणको क्रममा स्थानीय व्यक्तिले आफ्नो जग्गामा निर्माणको स्विकृती नदिएपछि फराकिलो सडक निर्माण हुन नसकेको स्थानीयको भनाई छ । सडक निर्माण नहुँदा विद्यालय पुग्नका लागि कामचलाउ पुल निर्माण गरी आवतजावत भइरहेको थियो । मंगलबार अज्ञात ब्यक्तिहरुले उक्त पुललाई भत्काएपछि विद्यालयमा अध्यापन गर्ने एक हजार बढी विद्यार्थीहरुलाई समस्या परेको स्थानीयहरु बताउँछन् ।

पुल भत्किएपछि विद्यालयको समयमा एकैपटक विद्यार्थीहरुको चापका कारण धरै समस्याको भएको अर्का विद्यार्थी खुलाब कुमारले बताए । सम्बन्धित निकायहरुले समस्या समाधान नगर्दा विद्यार्थीहरुका साथै शिक्षक र अभिभावकहरुले पनि समस्या भोग्नु परेको छ । पुल भत्काए पछि विद्यार्थीहरुले खेतको हिलाम्मे आलीको प्रयोग गरेर विद्यालय जान बाध्य छन् ।
उक्त विद्यालय पुग्न बाटोको रुपमा आली प्रयोग गरिएको थियो तर एक जना स्थानीय बाहेक अन्यको सहमतीमा १० फिटको बाटो निर्माण गरी पिसीसी ढलान गरिएको थियो । तर, बिचमा अधुरो रहेको ठाउँमा खेतको आली बराबरको पुल निर्माण पछि विद्यालय पुग्न सहज भएको थियो ।
गोरेटो बाटोलाई फराकिलो बनाएर पिसीसी सडक निर्माण पश्चात विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज भएको विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए । खेतहरुको पानी बग्ने ठाउँमा विद्यालयको लागतमा २०६७ सालमा निर्माण गरिएको सानो पुललाई स्थानीय अज्ञात समुहले तोडोपछि सबैलाई समस्या भएको उनले बताए ।

उनका अनुसार पुलको ठाउँमा ह्युमपाइप राखेर ब्यवस्थित बनाउन खोजिएपनि जग्गाधनीले स्विकृती नदिदाँ ह्युमपाइप राख्न सकिएको छैन । पुल भत्किएको कारण कम उमेरका विद्यार्थीहरु विद्यालय आउन छाडेको उनले बताए । भत्किएको पुल निर्माणका लागि विद्यालयले सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

