
हृदयराम गुप्ता
मर्चवार, १८ भदौ। गत साउन ३१ गते रुपन्देहीको मर्चवारी गाउँपालिका-५ स्थित श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा राखिएको रकम चोरी भयो । घटना भएको १९ दिन बितिसक्यो । तर, शान्ति-सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले चोर समाउन सक्यो न चोरी भएको रकम बरामद गर्न नै ।
घटनाको अनुुसन्धानले तिव्रता नपाउँदा प्रहरीले अनुसन्धानको किनारा लाग्न नसक्ने देखिएको छ । घटनामा सहकारीको कर्मचारी र पदाधिकारीकै संलग्नता हुन सक्ने मर्चवारी गाउँपालिका–४ का सुग्रिम यादवको आरोप छ ।
Advertisement

Advertisement
Advertisement

‘धेरै रकम सहकारीमै व्यवस्थापन गर्नु र कहाँ, कति रकम राखिएको छ भन्ने कर्मचारी र पदाधिकारीहरुबाहेक अन्यलाई थाहा हुदैन’,उनले भने, ‘तसर्थ, सहकारीका कर्मचारी र पदाधिकारीहरुलाई ‘सस्पेक्ट’ रुपमा राखेर उनीहरु माथी अनुसन्धान गर्नुपर्छ ।’ अपराधमा संग्लन व्यक्ति र रकम बरमाद गर्न नसक्दा प्रहरीको कमजोरी प्रर्दशन भएको छ ।
दुई जना चोरले सहकारीको ताल्चा तोडेर राखिएको २३ लाख ११ हजार ४४ रुपैया अझै बरामद नभएको श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक दिनेश कुमार मौर्यले बताए । उनले भने,‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् । अनुसन्धानमा हाम्रो सहयोग छ । तर, अहिलेसम्म केही पत्ता लागेको छैन ।’
स्वावलम्बनको सिसिटिभी फुटेज अनुसार करीब ११ः४५ बजे दुई जना व्यक्ति चोरीका लागि स्वावलम्बनको रिटार्निङ्ग वालबाट प्रवेश गरेका छन् ।
‘दुबै जना भवनको मुल गेटको ताला तोडेर पहिलो तल्लामा प्रवेश गरेका थिए । पहिलो तल्लाको ताला तोडेर एक जना आर्थिक कारोबार विभाग र अर्को लकर भएको अध्यक्षको कार्यकक्षमा प्रवेश गरेका थिए’ व्यवस्थापक मौर्यले भने, ‘यस अनुसार उनीहरुलाई लकर र आर्थिक कारोबार गर्ने स्थानबारे राम्रोसंग जानकारी भएको देखियो ।’ लकरबाट ६ लाख रुपैया र दैनिक आर्थिक कारोबार गर्ने काउण्टरबाट १७ लाख ११ हजार ४४ रुपैया चोरी भएको ब्यवस्थापक मौर्यले जानकारी दिए ।
रुपन्देहीको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले घटनाको अनुसन्धान भइरहेको बताए । घटनामा संलग्न दुई व्यक्तिहरुको हाउभाउ अनुसार सहकारीबारे जानकार भएको देखिएको बताउदै कर्मचारीसहित त्यहाँ नियमित आउनेजानेहरुसँग सोधपुछ भईरहेको उनले बताए ।
करीब १ हजार २ सय शेयर सदस्य रहेको उक्त सहकारीको १६ करोड कुल पुँजी रहेको छ । ११ करोड १२ लाख ऋण लगानी भएको उक्त स्ववलम्बनमा हाल ब्यवस्थापक सहित ४ जना कर्मचारी कार्यरत छन् ।

