
हृदयराम गुप्ता
मर्चवार, २४ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रको विद्यालयमा जाने पुल भत्काइएपछि विद्यालयमा आउजाउमा भइरहेको समस्यालाई केही युवाहरुले समाधान गरेका छन् ।
मर्चवारको मर्चवारी गाउँपालिका वडा नम्बर ६ स्थित श्री ठर्की माध्यमिक विद्यालयमा जाने बाटोमा निर्माण गरिएको अस्थायी पुल गत मंगलबार अज्ञात समूहले भत्काइदिएका थिए । जसकारण विधालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालयमा आउजाउमा समस्या भइरहेको थियो ।
Advertisement

Advertisement
Advertisement

सोही विषयलाई लिएर संचारमाध्यमहरुमा समाचार प्रकाशन भएपछि केही युवाहरुले उक्त स्थानमा काठको अस्थाई पुल निर्माण गरिदिएका छन् । ‘पुल निर्माण गरिदिने व्यक्तिहरुको पहिचान खुलेको छैन’ विद्यालयका प्रधानाध्यापक बलिराम यादवले भने, ‘तर, हाम्रै विद्यालयमा पढेका पूर्वविद्यार्थीहरुले आफ्नै संयुक्त लगानीमा अस्थाई पुल बनाइदिएको जानकारी प्राप्त भएको छ ।’
उनले थपे–‘पुल निर्माण गरिदिनका लागि हामीले सरोकारवालाहरुलाई आग्रह गरेका थियौ । तर, हाम्रो आग्रहलाई कसैले सुनेन । हाम्रै पूर्वविद्यार्थीहरुले पुल बनाइदिएको सुन्दा खुशी लागेको छ । उनीहरुमा पहिचान गर्नमा लागेको छु । पहिचान भएमा उनीहरुलाई सम्मान गर्छौँ ।’
उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्यनरत छन् । पुल भत्किदा उनीहरु खेतको आलीको हिलाम्मे बाटो हुदै समेत विद्यालय जानु परेको थियो भने साना उमेर समूहका विद्यार्थीहरु विद्यालय जानै छाडेका थिए । तर, उक्त समस्याको समाधानका लागि तीनै तहको स्थानीय, प्रदेश र संघिय सरकार अग्रसर नभएपछि पूर्वविद्यार्थीहरुले आफ्नै लगानीमा अस्थाई काठको पुल बनाएर तीनै तहको सरकारलाई गतिलो ‘झापड’ दिएको स्थानीयहरुले बताएका छन् ।
पुल निर्माणपछि विद्यालय पुग्न सहज भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी गुलाब खटिकले बताए । ‘पुल भत्काइएपछि विद्यालय आउजाउको समयमा समस्या भइरहेको थियो’, उनले भने, ‘काठको अस्थायी पुल भए पनि अब विद्यालय जान सहज भइरहेको छ ।’ प्रधानाध्यापक यादवका अनुसार पुल भत्काउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय मझगाँवामा उजुरी दिइएको छ ।

