
भैरहवा, २४ भदौ। पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ (भैरहवा फूड फेस्टिबल तथा म्युजिकल नाइट–२०८१) कार्यक्रम हुने भएको छ । यस क्षेत्रलाई चलायमान बनाउने उद्देश्यसहित सिद्धार्थ होटल संघ नेपालले संस्थाको १८ औँ स्थापना दिवसमा एवं ४५ औँ पर्यटन दिवसको अवसरमा भैरहवामा खाना महोत्सव एवं सांगीतिक साँझ कार्यक्रमको आयोजना गरेको हो ।
भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा दुई दिन असोज ११ र १२ गते आयोजना गरिएको महोत्सवमा ५ तारे, ४ तारे, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका स्टलहरु रहने कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिए । उनले सुविधासम्पन्न तारे होटलमा पाईने विभिन्न परिकारहरु सडकमै छुट सुविधासहित पस्किने गरिने व्यवस्थापन भइरहेको बताए ।
Advertisement

Advertisement
Advertisement

उनले विगतमा बेलहिया नाकामा पुगेर पर्यटन दिवस मनाउने गरिएपनि यस वर्ष पर्यटन प्रवद्र्धनको उद्देश्यसहित विगतभन्दा फरक ढंगले कार्यक्रम आयोजना गरिएको बताए । ‘पहिला पर्यटन दिवसको अवसरमा हामीले बेलहिया नाकाबाट मुलुकमा प्रवेश गरेर पहिलो पर्यटकलाई स्वागत सम्मानसहित कार्यक्रम गरेर दिवस मनाउन्थ्यौँ’,उनले भने, ‘तर, यस वर्ष आफ्नै क्षेत्रको प्रवद्र्धनसहित केही फरक गरौँ भनेर यस कार्यक्रमको आयोजना गरेका हौँ ।’
महोत्सवमा आन्तरिक, भारतीय तथा तेस्रो मुलुकका गरी करिब ५० हजार पर्यटक सहभागी हुने अपेक्षा आयोजकको छ । भारतबाट तीन प्रतिशत पर्यटक मात्र नेपाल आउने वातावरण बनाउन सकिए मुलुकको पर्यटन क्षेत्रले फड्को मार्ने उनको भनाई छ ।
होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भैरहवाको देवकोटा चोकदेखि आँखा अस्पतालसम्मको सर्भिस लेनमा चल्ने महोत्सवमा राष्ट्रियसहितको कलाकारहरुको प्रस्तुती रहने बताए । उनका अनुसार महोत्सवमा दुर्गेश थापा, समिक्षा अधिकारी, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्कीसहित लाइभब्याण्डको प्रस्तुती रहने छ ।
कार्यक्रमको मुख्य प्रायोजक रहेको युनाइटेड एजोड इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेशका नायव प्रबन्धक प्रकाश शर्माले पर्यटन क्षेत्रको संस्था होटल संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको जनाए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

