


परासी, २५ भदौ। पश्चिम नवलपरासीमा तस्करी बढेको बेला राजस्व अनुसन्धान कार्यालयले छापा मारेर ठूला परिमाणमा चिनियाँ लसुन बरामद गरेको छ । कार्यालयको जिल्लाको बसैया नाका क्षेत्रबाट स्थानीय अजय हरिजनको गोदाममा छापा मारेर ठूलो परिमाणमा चिनियाँ लसुन बरामद गरेको हो ।
भारतमा लसुन महंगो भएकोले तस्करहरुले सीमावर्ती क्षेत्रमा लसुन भण्डारण गरी भारततर्फ तस्करी गर्दै आएका छन् । जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मौन देखिएका छन् । चाडपर्व नजिकिएसँगै तस्करी झनै बढेको छ । स्थानीयका अनुसार परासीको धर्मपुर, भुजहावा, बसैया, तोनवा, अमानीगंज, गोपालपुर, मुडेरा लगायतनाकाबाट प्रहरीको मिलोमतोमा लसुन, कपडा, चिनी, हार्डवेयर लगायतका सामग्रीको तस्करी भइरहेको छ ।

राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत मनोज सइनीले विशेष सूचनाका आधारमा गोदाममा छापा मारेर २८ लाख मूल्यबराबरको एघार हजार एक सय किलो लसुन बरामद भएको बताए । उनका अनुसार बिल बिजक नभएको अवस्थामा बरामद लसुन २० किलोका ५१० बोरा र ३० किलोका ३१ बोरा रहेको छ ।
‘हामीले बरामद सामग्रीको बिल बिजक मागेपछि अडिटरले लगेकोले पछि उपलब्ध गराउन भनेका छन्’, उनले भने, ‘बिहिवारभित्र आवश्यक कागजपत्र लिएर कार्यालयमा आउन भनेका छौँ ।’

