


काठमाडौं,१ असोज। कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौंको बल्खु स्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरू पुरा हुन नसक्ने बताए।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हाले देखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरेको उल्लेख गर्दे उनले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको सुनाए।

तरकारीमा विषादीको अत्यधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए। किसान र सम्बन्धित निकायबीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले दुरीको खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीको भनाइ छ।
किसानको उत्पादन सहर सम्म ल्याई बिक्रीको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेकोमा पनि उनले जोड दिए।

