


भैरहवा,१३ असोज । सशस्त्र प्रहरी बल, नेपालले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको छ । चाडपर्व नजिकिएसँगै अन्तर्राष्ट्रिय सीमानाकाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरीले रुपन्देहीको सीमानाकामा ‘डेजी’ र ‘साया’ लाई तैनाथ गरेको हो ।
सीमाबाट हुन सक्ने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सीमाको सुरक्षार्थ डग हेण्डलरसहित पठाएको ‘डेजी’ र ‘साया’ लाई बेलहिया सीमानाकामा खटाइएको सशस्त्र प्रहरी बल,नेपाल २७ नम्बर गण, हेडक्वाटर रुपन्देहीका गणपति एवं एसपी आनन्द थापा मगरले बताए ।

उनले चाडपर्वलाई लक्षित गरेर सीमाबाट हुन सक्ने अपराधलाई प्रभावकारी ढंगले नियन्त्रण गर्न ‘स्क्वायड डग’ परिचालन गरिएको बताए ।
‘डेजी’ र ‘साया’ तालिम प्राप्त कुकुर हुन् । तीन महिनाको हुदाँ डेढ वर्ष अघि भारतबाट खरिद गरेर ल्याइएको जर्मन सेफर्ड प्रजातीको ‘डेजी’ ले हात–हतियार तथा विष्फोटक पदार्थका साम्रगी सुँघेर पत्ता लगाउनमा अब्बल छ भने नेपालमै दुई वर्ष अघि जन्मिएको ल्याब्राडोर प्रजातिको ‘साया’ लागुऔषध प्रकृतिका साम्रगी सुँघेर पत्ता लगाउनमा अनुभवी छ ।
सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयको पशु स्वास्थ्य तथा डग हेण्डलर शाखाले सशस्त्र प्रहरी वरिष्ठ हवल्दारको नेतृत्वमा ५ जना टोलीको साथमा ‘डेजी’ र ‘साया’ लाई रुपन्देही पठाइएको हो । उनीहरु आइतबार देखि रुपन्देहीको सीमाको सुरक्षार्थ सीमामा खटिएका छन् ।

‘डेजी’ ले हात-हतियार, विष्फोटक पदार्थ अन्र्तगतका साम्रगी सुँघेपछि पछाडी हटेर बस्ने संकेत गर्दछ भने ‘साया’ ले लागुऔषध अन्र्तगतका साम्रगी सुँघेपछि भुक्ने, कोतार्ने लगायत गतिविधी गर्ने गरेको पशु स्वास्थ्य तथा डग हेण्डलर शाखाका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार नविन नारायण श्रेष्ठले बताए ।
‘सीमाको सुरक्षार्थ र सीमाबाट हुने सक्ने अपराध नियन्त्रणका लागि हामी सीमामा खटिएकै छौँ’, एसपी थापाले भने, ‘चाडपर्वमा सीमाको सुरक्षार्थको खटिएका ‘डेजी’ र ‘साया’ को सहायताले हुन सक्ने अपराध नियन्त्रणमा थप सहजता हुनेमा विश्वस्त छौँ ।’ ‘डेजी’ र ‘साया’ लाई रुपन्देहीको बेलहियाका नाकामा मात्र नभई कर्करहवा, भगवानपुर लगायतका नाकामा पनि परिचालन गरिने उनले बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले सीमानाकामा तालिम प्राप्त कुकुरको परिचालनले हुन सक्ने अपराधमा नियन्त्रणमा गर्नमा विश्वास व्यक्त गरे ।
उनले चाडपर्वका बेलामा मात्र नभई सीमाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ‘स्क्वायड डग’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘मोबिलाइजेसन प्रभावकारिताको अपेक्षा छ । ‘स्क्वायड डग’ लाई निरन्तरता दिन सके धेरै राम्रो हुनेछ ।’

