


भैरहवा,२२ असोज। नेपाल एयरलाइन्सले ए-३२० न्यारोबडी विमान मार्फत काठमाडौं-भैरहवा उद्दार उडान गर्ने जनाएसँगै उडानको सबै टिकट बिक्री भएको छ ।
अविरल वर्षाका काण आएको बाढी,पहिरोले राजमार्गमा क्षति हुदाँ काठमाडौं आवगमनमा समस्या र दसैं पर्वमा आवगमनमा सहजताका लागि फुलपाती (असोज २४ गते) का दिन काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गरिने नेपाल वायुसेवा निगमले जनाएको थियो ।

निगमले भैरहवा उडानका लागि सोमबार टिकट बुकिङ खुल्ला गरेलग्त्तै ७० वटा टिकट विक्री भएपछि राति बुकिङ बन्द गरेर मंगलबार बिहान खोलेको थियो । मंगलबार बिहान बुकिङ खुलाएको केही समयमै बाँकी टिकट बिक्री भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
भैरहवा उडान गर्न लागेको विमान १५८ सिटको हो । उनका अनुसार काठमाडौं-भैरहवाका लागि सबै १५८ वटा सिटको नै टिकट बिक्री भइसकेको छ भने भैरहवा-काठमाडौंका लागि टिकट अझै बचेको छ ।
एयरलाइन्सले फुलपातीका दिन बिहीबार विहान ११ बजे काठमाडौं-भैरहवा र त्यहाँबाट सोही दिन १२:३० बजे काठमाडौंका लागि उद्दार उडान भर्ने तालिका छ।

