
भैरहवा,२८असोज। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेज,फ्लाई दुबई र थाइ एयर एशियाले व्यावसायिक उडान गर्ने भएका छन्। जसका लागि यी तीन वटै एयरलाइन्स कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार जजिरा एयरवेज र फ्लाई दुबईले कार्तिक महिनाबाट उडान गर्ने तयारी छ भने थाइ एयर एशियाको उडान मिति टुंगो लागेको छैन।
Advertisement

Advertisement
Advertisement

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन्।
जजिराको विमान बिहान ७:३० बजे भैरहवा आएर ८:३० बजे कुवेत उड्ने तालिका रहेको छ भने फ्लाई दुबई दिउँसो १:४५ बजे भैरहवा आएर ३:३० मिनेटमा काठमाडौंको विमानस्थल हुँदै दुबईका लागि उडान भर्ने तालिका रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका सह-प्रवक्ता ज्ञानेन्द्र भूलले फ्लाई दुबईले कात्तिकदेखि हप्ताको सातै दिन दुबई-भैरहवा र भैरहवा-काठमाडौँ-दुबई उडान गर्न लागेको जानकारी दिए। उनका अनुसार फ्लाई दुबईले कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ। जजिराले साताको तीन दिन मंगलबार, बिहिवार र शनिवार उडान भर्नेछ ।यस अघि पनि जजिराले भैरहवा विमानस्थलबाट उडान सेवा दिएपनि प्राविधिक कारण देखाउँदै सेवा स्थगित गरेको थियो।
त्यस्तै थाई एयर एसियाका प्राविधिक टोलीले केही दिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेर जानकारी लिएको थियो। एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुंगो लाग्न भने बाँकी रहेको विमानस्थलका महाप्रबन्धक तिवारीको भनाई छ। गत असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो।
अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भैरहवा विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर भैरहवा विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि ०८३ भदौसम्म नलिने जनाइएको छ। उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिने गरी कार्ययोजना बनाइएको छ।

