
भैरहवा,३०असोज। रुपन्देहीको भैरहवा चारवटा टेष्ट राष्ट्रसहित पाँच देशका क्लबहरुबीच क्रिकेट प्रतियोगिता हुने भएको छ। नेक्सस क्रिकेट एकेडमीको आयोजनामा पर्यटन बोर्डको प्रवद्र्धन र सिद्धार्थनगर नगरपालिकाको सहकार्य कार्तिक ३ गते देखि भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी-२० क्रिकेट प्रतियोगिता हुने भएको हो।
आयोजकले बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको छ। उक्त प्रतियोगिता कार्तिक १० गतेसम्म संचालन हुनेछ।
Advertisement

Advertisement
Advertisement

प्रतियोगिता दक्षिण एशियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल सहित ५ देशका प्रथम श्रेणीका खेलाडीहरुको सहभागितामा हुने आयोजक नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी दिए।
नेपाली क्रिकेट विकासमा टेवा पुर्याउने र खेल पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ भैरहवामा प्रतियोगिताको आयोजना गरिएको उनको भनाई छ।
उनका अनुसार प्रतियोगितामा पाकिस्तानी क्लबबाट पाकिस्तान राष्ट्रिय टिमबाट खेलिसकेका इमरान नाजिर, बंगलादेशको क्लब टिमबाट बंगलादेशी स्टारहरु आलोक कपाली र मुनिम साहरियर भारतबाट आइपिएल खेलाडी दिपक पुनिया सहित सबै टिममा प्रथम श्रेणीका खेलाडी सहभागिता रहनेछ।
प्रतियोगितामा भारतबाट लाइफ केयर क्रीकेट क्लब, पाकिस्तानबाट टाइगर्स इन्टरनेशनल स्पोर्ट्स, बांग्लादेशबाट गुलाज वरियर्स, नेपालबाट नेक्सस रुपन्देही-११ र श्रीलंकाबाट श्रीलंका स्टेट सर्विसेज क्रीकेट एसोसिएसनको टिम सहभागीता रहनेछ।
आयोजकका अनुसार प्रतियोगितामा बिजेता टिमले पाँच लाख रुपैयाँ र ट्रफी, उप बिजेताले तीन लाख रुपैयाँ र ट्रफी पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाइ ३५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरलाइ जनही २० हजार तथा प्रत्येक खेलमा म्यान अफ द म्याचलाइ ५ हजार रुपैयाँ पुरस्कार रहेको छ।
‘यस प्रतियोगिताले नेपालको क्रिकेट विकासमा टेवा पुर्याउने विश्वास छ’,उनले भने, ‘जुन टिम र खेलाडी सहभागी हुँदैछन् त्यसमार्फत भैरहवा, लुम्बिनी लगायत चिनाउन सकिए अन्तर्राष्ट्रियस्तर यस क्षेत्रको प्रवद्र्धन हुनेछ । यो पर्यटन प्रवद्र्धनका लागि ठुलो प्लेटफर्म हो।’ पर्यटन प्रवद्र्धनको लागि यस किसिमका प्रतियोगिताहरु संचालन हुनुपर्ने उनको भनाई छ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले प्रतियोगिताले यस क्षेत्रको पर्यटन प्रवद्र्धन हुने सिद्धार्थनगरका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे।
खेल आइसिसीको नियमअनुसार खेलाइने छ भने प्रतियोगितालाई नेपाल क्रिकेट संघले आधिकारिकता प्रदान गरेको छ र रुपन्देही क्रिकेट संघले प्राविधिक सहयोग गरेको बताइएको छ।

