
भैरहवा,२ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति माग गरेको थियो। जसमा शुक्रबार अदालतले पक्राउ गर्नका लागि अनुमति दिएको प्रहरीले जनाएको छ।
Advertisement

Advertisement
Advertisement

जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । अदालतको अनुमति पश्चात प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने तयारी छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।
उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रकम अवैध तरिकाले आएको एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ ।
लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।

