


भैरहवा,२कार्तिक। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर रास्वपाको केन्द्रीय कार्यालयबाट उनलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रवारसाँझ रविलाई पक्राउ गरेर कास्की पठाईदिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला परिसरलाई पत्राचार गरेको थियो।
लामिछाने पक्राऊ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको छ । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका छन् । लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका हुन् ।
लामिछानेले संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका छन् । उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’
लामिछानेलाई शुक्रबारै जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने प्रहरीको तयारी छ ।

