
भैरहवा,८ कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको छ ।
बिहीवार जिल्ला अदालत रुपन्देहीका न्यायधिश श्यामप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले क्लिक लुम्बिनीलाई जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार सभापति लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थको रकम पनि गोर्खा मिडिया प्रा.लि.मा अपचलन भएको संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
अदालतको अनुमित दिएसँगै कास्की प्रहरीको नियन्त्रणमा रहेका सभापति लामिछानेलाई रुपन्देही ल्याएर अनुसन्धान गरिने भएको छ । तर, कास्की प्रहरीले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति पाएकोले म्यादअवधी पश्चात रुपन्देही ल्याइने सम्भावना देखिएको छ।
यसअघि ३ वैशाखमा इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।
जसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको थियो । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको थियो ।
गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।
टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

