


भैरहवा, १२ कार्तिक। रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको आयोजनामा सञ्चालित मिसेज लुम्बिनी प्रदेशको अडिसन राउण्ड सम्पन्न भएको छ । मिसेज लुम्बिनी प्रदेशका लागि शनिवार भैरहवामा अडिसन भएको क्लबका अध्यक्ष ओम जैसीले बताए ।
अडिसनमा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा र गुल्मीबाट गरी ४७ जनाको सहभागीता थियो । जसमध्ये ३० जना छनौट भएको अध्यक्ष जैसीले बताए।

अडिसनमा निर्णायक उकेश मान ज्ञवाली (मिस्टर लुम्बिनी–२०१८), आमिसा थापा (मिस पश्चिमाञ्चल–२०२१) तथा कोरियोग्राफर, मुना राना (फेशन डिजाईनर), लिटिल एन्जल्स स्कूलका प्राचार्य सुमन गोपाल र गायिका देबिका बन्दनाको उपस्थिति थियो।
महिला सशक्तिकरण र क्लबको उचाईलाई अझ माथि पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जनाएको छ। प्रतियोगिताको विजेताले क्राउनसहित ५१ हजार रुपैयाँ, फस्ट रनरअपले ३१ हजार रुपैयाँ र सेकेण्ड रनरअपले २१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

