


दाङ,१२ कार्तिक। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश तहलाई वित्तिय क्षेत्रमा बलियो बनाउन राजश्व र रोयल्टी बाँडफाटँको व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी रहेको बताएका छन्। संविधानको भावना अनुसार प्रदेश र स्थानीय तहलाई प्राथमिकतामा राखेर राजश्व र रोयल्टी बाँडफाँड गरिनुपर्नेमा न्यायपूर्ण बाँडफाड हुन नसकेको उनको भनाई छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आयोजनामा लुम्बिनी प्रदेशमा भएको रोयल्टी बाँडफाँडको वर्तमान प्रणालीको संरचना, आधार र ढाँचाको पुनरावलोकन सम्बन्धी अध्ययन बिषय अन्तरक्रिया कार्यक्रममा उनले हाल भइरहेको ५० प्रतिशत संघीय सरकार, २५ प्रतिशत प्रदेश र २५ प्रतिशत स्थानीय तहको मापदण्डलाई परिमार्जन गर्नुपर्ने बताए। ४० प्रतिशत संघीय सरकार र बाँकी ६० प्रतिशत प्रदेश तथा स्थानीय तहमा राजश्व र रोयल्टी वितरणको मापदण्ड बनाउन सुझाव दिए।

‘संविधानले प्रदेश र स्थानीय तहलाई एकल तथा साझा सूचीका अधिकार कार्यान्वयन गर्न जिम्मेवारी प्रदान गरेको छ । त्यसमा पनि मौलिक हकको कार्यान्वयनको जिम्मेवारी पनि छ । तर, वित्तिय स्रोतमा भने त्यसरी बाँडफाँड गरिएको छैन्’उनले भने,‘स्थानीय तहले संकलन गरेको प्राकृतिक स्रोतको रोयल्टी तथा राजश्व स्थानीय तहको संचित कोषमा दाखिला गर्ने काम भयो । प्रदेश सम्म आउनुपर्ने राजश्व जम्मानै हुन सकेन ।’
अन्तराष्ट्रिय स्तरबाट प्राप्त हुने रोयल्टीको हकदार प्रदेश सरकार भएपनि त्यो रोयल्टी बुझाउन संघीय सरकारले भुलेको उनले टिप्पणी गरे। वन क्षेत्रबाट प्रदेश सरकारले राजश्व बृद्धिको आशा गरेको छ । तर, संघीय कानुन बाधक बन्दा वन क्षेत्रबाट निकै कम राजश्व संकलन भएको उनको भनाई छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राकृतिक स्रोत माथीको स्थानीय अपनत्वको प्रतिनिधित्व गराउन, प्राकृतिक स्रोतको संरक्षण तथा दिगो उपयोगको वातावरण तयार गर्न, वातावरणीय तथा आर्थिक सामाजिक क्षेत्रमा पर्न जाने नकारात्मक प्रभावहरुलाई न्यूनीकरण गर्नका लागि वित्तिय स्रोतको सुनिश्चितता, तीन तहका सरकार मार्फत प्रभावित क्षेत्रको विकास, गरिबी निवारण र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने लगायत रोयल्टी बाँडफाँडको उद्देश्य राखिएको जानकारी गराइएको थियो ।
नेपालमा रोयल्टी पर्वतारोण, विद्युत, वन, खानी तथा खनिज, पानी तथा अन्य शिर्षकमा संकलन भइरहेको छ । तर, रोयल्टी संकलनको अवस्था भने घट्दो अवस्थामा छ । रोयल्टीले नेपालको कुल राजश्वको शुन्य दशमलव ५८ प्रतिशत मात्रै योगदान गरेको देखिन्छ । आर्थिक बर्ष ०७९/८० मा सबैभन्दा धेरै विद्युतबाट रोयल्टी संकलन भएको छ । विद्युतबाट ५४ प्रतिशत, वनबाट २२ प्रतिशत, पर्वतारोहणबाट १५ प्रतिशत र खानी तथा खनिजबाट ९ प्रतिशत रोयल्टी संकलन हुने गरेको विज्ञ कृष्ण पन्तले जानकारी दिए।

