


भैरहवा,१३ कार्तिक । भैरहवामा तिहार पर्वको अवसरमा दीपावली उत्सव कार्यक्रमको आयोजना गरिएको छ । साउण्ड र संगित (म्युजिक) क्षेत्रमा भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डले लक्ष्मीपूजाको दिन (बिहीवार) बेलुकी ६ बजे देखि मध्यरातसम्म दीपावली उत्सव कार्यक्रम आयोजना गरेको हो ।
लक्ष्मीपूजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवद्र्धन गर्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको युनिक साउण्डका संचालक रहिश खानले जानकारी दिए ।

‘हामीले विगत ८ वर्ष देखि कसैसँग कुनै पनि प्रकारको सहयोग बिना कार्यक्रम आयोजना गर्दै आएका छौँ’, युनिक साउण्डद्धारा आयोजित पत्रकार सम्मेलनमा खानले भने, ‘यस वर्ष पनि आफ्नै व्यक्तिगत लगानीमा कार्यक्रम आयोजना गरिएको छ ।’
भैरहवाको सानु डिपार्टमेन्ट स्टोर देखि मिलन चोकसम्म आयोजना हुने उत्सव स्थललाई बिद्युतद्धारा झलमल गरीने र कार्यक्रममा सहभागी हुन कुनै शुल्क समेत नलाग्ने उनले बताए । उत्सवमा नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरु सँगै लाईट शो हुनेछ ।
उनले आफु ईस्लाम धर्मालम्बी भए पनि सबैको धर्म संस्कृतिलाई सम्मान गर्नुपर्छ भन्ने भावना रहेकोले लक्ष्मीपूजाको दिन उत्सवलाई निरन्तर राखेको बताए ।
‘म हिन्दु धर्मालम्बी साथीहरुको पर्वमा रमाउँछु । उहाँहरु हाम्रो पर्वमा रमाउन हुन्छ । एक आपसमा खुसी साट्छौ’,उनले भने, ‘यसले एकआपसमा सामाजिक सद्भाव, एकता अझ बढने विश्वासका साथ वर्षौ देखि कार्यक्रम गर्दै आएको छु ।’
यो उत्सव अन्य कार्यक्रम सँगै स्थानीय कलाकारलाई आफनो प्रतिभा देखाउने अवसर समेत हुने उनको भनाई छ । कार्यक्रममा यस पटक पनि बिगतमा जस्तै स्थानीय कलाकार संगै राष्ट्रिय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । तर, विगतका वर्षहरु जस्तै कलाकारहरुको नाम सार्वजनिक गरिएको छैन । र, कलाकारलाई सप्राईजको रुपमा सर्वसाधरण समक्ष प्रस्तुत गरिने बताइएको छ ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गरेको छ । कार्यक्रम सम्पन्न गर्न करिब ९ लाख रुपैयाँ खर्च लागने बताईएको छ । तिहार उत्सवमा भैरहवाका साथै वरपरका क्षेत्रहरु बुटवल, मणिग्राम, परासी साथै छिमेकी देश भारतको सीमावर्ती शहरबाट समेत सहभागिता हुने आयोजकले जनाएको छ ।

