


सलमान खान
भैरहवा, २० कार्तिक । नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–दुबई उडान गर्ने भएको छ ।

नेपाल एयरलाइन्सले कार्तिक २३ गते (शुक्रवार) देखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार साताको आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ ।
हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने भएको छ ।
विमानस्थलबाट नेपाल एयरलाइन्ससहित कार्तिक २३ थाई एयर एशिया, कार्तिक २४ गते फ्लाई दुबई र कार्तिक २५ गते देखि जजिरा एयरवेजले उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
‘हाल भैरहवाबाट नेपाल एयरलाइन्स सहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् प्राधिकरणका सूचना अधिकारी भुलले क्लिक लुम्बिनीसँग भने, ‘कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु पनि आउने इच्छुक छन् । सबै आ–आफ्नो आन्तरीक तयारीमा छन् ।’

