
सलमान खान
भैरहवा, २३ कार्तिक । रुपन्देहीको भैरहवा स्थित गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान भएको छ । अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडान तालिका समेत बुझाइसकेका छन् । टिकट बुकिङ समेत खुला छ । भैरहवाको भविष्यसँग जोडिएको यस विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले सेवाप्रदान गर्ने खबरले यस क्षेत्रका नागरिक हर्षित छन् ।
Advertisement

Advertisement
Advertisement

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
यसमध्ये एयर एशियाले गत कार्तिक १८ गते आफ्नो भैरहवा–बैंकक पहिलो उडान गरिसकेको छ । एयर एशियालाई उडानमा लगाइएको प्रतिबन्ध फुकुवाका लागि भैरहवाबाट उडान गर्नेपर्ने सर्तका कारण उसले बाध्यत्यातमक अवस्थमामा उडान सेवा थालेको हो । त्यसो त एयर एशियाले भैरहवाबाट उडान गर्न सकारात्मक भएपनि सेवा सुरु गरेको थिएन । एयर एशियाले भैरहवाबाट हप्तामा दुई वटा उडान गर्नेछ ।
‘कम्पनीको लागि सुरुवाती चरण भएकोले कार्तिक १८ गते बैंकक–भैरहवा उडान गरेको र अर्को फ्लाइट कार्तिक २३ गते आउँदैछ’ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘त्यसपछि हप्तामा सोमबार र बिहीवार दिउँसो १२ः१५ विमानस्थलमा अवतरण गरेर करिब एक घण्टापछि बैंककका लागि यहाँबाट जानेछ ।’
त्यस्तै नेपाल एयरलाइन्सले पनि भैरहवा विमानस्थलबाट सेवा प्रदान गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार नेपाल एयरलाइन्सले कार्तिक २३ गते देखि काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन उडान गर्ने भएको छ । आइतबार, सोमबार, बुधवार र शुक्रवार राति ९ः३० बजे काठमाण्डौंबाट उडान भर्ने नेपाल एयरलाइन्स करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ ।

भैरहवा विमानस्थल कार्यालयका अनुसार यहाँबाट संयुक्त अरब इमिरेट्स (युएई) को फ्लाई दुबई एयरलाइन्सले कार्तिक २४ गतेबाट दैनिक रुपमा र कुवेतको जजिरा एयरवेजले कार्तिक २५ गतेबाट सातामा तीन उडान गर्न लागेको छ ।
विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबई दैनिक १ः४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने र यहाँबाट २ः४५ बजे काठमाडौं हुँदै दुबई जानेछ । त्यस्तै यस अघि पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान गर्नेछ ।
‘हाल भैरहवाबाट नेपाल एयरलाइन्स सहित चार वटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् प्राधिकरणका सूचना अधिकारी भुलले क्लिक लुम्बिनीसँग भने, ‘कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु पनि आन्तरिक छलफलमा छन् । आउनेछन् भन्नेमा आशावादी छौँ।’
विमानस्थल संचालनका लागि सरकारले पनि विभिन्न रणनीति अंगाल्दै भैरहवा विमानस्थलबाट सेवा दिने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विभिन्न सुविधा दिएको छ ।
सरकारले कम्पनीहरुलाई भैैरहवा विमानस्थलबाट सेवा प्रदानका लागि हवाई टिकटमा लाग्ने गरेको प्रति यात्रु तीन हजार रुपैयाँ यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ लाग्ने पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्यान्डिलङमा ७५ प्रतिशत छुट, ल्याडिङ, पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट दिएको छ । यसको अलावा काठमाडौं विमानस्थल भन्दा हवाई इन्धनमा पनि प्रतिकिलोलिटर एक सय अमेरिकी डलर छुट दिएको छ ।
‘विमानस्थलबाट सेवा प्रदान गर्नका लागि तयारी अवस्थामा छौँ । यहाँ अध्यागमन, भन्सार, सुरक्षा, कार्गो सेवा, प्लान्ट क्वारेन्टाइन, बैंक लगायत तत्कालका लागि आवश्यक सबै संरचना र जनशक्ति छ’, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, चार वटा वायुसेवा कम्पनीले पनि उडान गर्ने तय भइसकेको छ । अब यात्रु आउनुपर्यो ।’

विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले सेवा प्रदान गर्न लागेकोमा यस क्षेत्रमा पर्यटन क्षेत्रमा पनि हौसिएको छ । भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्र पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले बताए ।
‘विमानस्थल निर्माणमा अर्बौ लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरुले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’ उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौ लगानी र धरासय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चार बाहेक अन्य वायुसेवा कम्पनीहरुलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’
भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले भैरहवा, लुम्बिनीका साथै यस क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा कनेक्टिभिटी हुने र नागरिकको जीवनस्तर समेत उकासिनमा मद्दत पुग्ने उनको भनाई छ ।
विमानस्थलमा आवश्यक सबै पूर्वाधार तयार भएर करिब एक वर्षअघि अन्तर्राष्ट्रिय उडान समेत भइसकेको छ । हालको अवस्थामा विमानस्थलको प्रयोग सबैभन्दा बढी विभिन्न मुलुकमा वैदेशिक रोजगारीका लागि जाने यात्रुहरुले प्रयोग गर्ने गरेका छन् । र, विमानस्थल संचालनका लागि सोही यात्रुहरुलाई मध्यनजर गर्दै सुविधाको आवश्यक छ । जुन हुन सकेको छैन् । जसकारण भैरहवा विमानस्थल पूर्ण संचालनमा कठिनाई देखिएको छ ।
‘भैरहवामा सबै सुविधा नहुदाँ वैदेशिक रोजगारीमा जाने यात्रुहरुले काठमाडौं विमानस्थल रोज्नुपर्ने बाध्यता छ’ भैरहवाका एक व्यवसायीले दावी गर्दै भने, ‘साथै, विदेशी राष्ट्रसगँ परराष्ट्र मन्त्रालय समन्वय गर्न नसकेको देखिएको छ भने निजी क्षेत्र (म्यानपावर व्यवसायी) ले पनि भैरहवा विमानस्थलाई पूर्ण रुपमा संचालनका लागि सहयोग नगरेको देखिन्छ ।’
केही मुलुकले वैदेशिक रोजगारीमा आउने सर्वसाधरणको स्वास्थ्य जाँच आफैले मान्यता दिएको संस्थाबाट मात्र गराउनुपर्ने बाध्यकारी व्यवस्थाका कारण पनि सर्वसाधरण काठमाडौं जानै पर्ने बाध्यता छ । जसका लागि परराष्ट्रले समन्वय नगरेको देखिएको उनको भनाई छ ।

‘स्वास्थ्य जाँच काठमाडौं मात्र नभई भैरहवामा नै गर्ने व्यवस्था मिलाउनु पर्यो । सरकारले त्यो भुमिका पनि खेल्नु पर्यो’ उनले प्रश्न गर्दै भने, ‘सबै सुविधा भैरहवामा हुने तर स्वास्थ्य जाँच लगायत गराउन काठमाडौं नै पुग्नुपर्ने भएपछि त्यसको के अर्थ ?’
वैदेशिक रोजगारीमा जानका लागि सर्वसाधरणले प्रक्रियाका लागि सबैभन्दा अघि म्यानपावर व्यवसायी र ट्राभल्स एजेन्सीमा पुग्छन् । त्यही म्यानपावर व्यवसायी र ट्राभल्स एजेन्सीले वैदेशिक रोजगारीमा जाने सर्वसाधरणलाई काठमाडौंमा भुलाउँदा यात्रुले बाध्यताबस भैरहवाको साटो काठमाडौं रोज्नुपर्ने भैरहवा विमानस्थल पूर्ण संचालनमा अर्को कठिनाई छ ।
वैदेशिक रोजगार संघका अध्यक्ष राजेन्द्र भण्डारीले भैरहवा क्षेत्रबाट आफुहरु सेवा प्रदान गर्न तयार रहेको तर सरकारले व्यवसायीहरुको समस्या पनि समाधान गर्नुपर्ने बताउँछन् ।
‘हामी भैरहवामा आफ्ना सेवा विस्तार गर्न तयार छौँ । असहयोग गरेका छैनौँ । त्यहाँ सेवा विस्तार गर्दा हामीलाई आवश्यक कुराहरुको मन्त्रालयले व्यवस्था गरिदिन पर्यो’, उनले क्लिक लुम्बिनीसँग भने, ‘सेवा शुल्कको विषयमा पनि समाधान हुनपर्यो । त्यसको बैंकिङ कारोबार हुनुपर्छ । सीमित एयरलाइन्सको अवस्थामा महंगो टिकट हुदाँ हामीलाई पनि समस्या परेको छ । एयरलाइन्सको बदमासी भयो । यो हुनु भएन ।’
भैरहवामा नियिमित उडान भए त्यहाँ सेवा विस्तार गर्न सहज उनको भनाई छ । काठमाडौंमा एयरलाइन्सहरुको मोनोपोलीले उडान क्षेत्रमा समस्या निम्तिएको व्यवसायीहरु बताउँछन् ।
विमानस्थल संचालनका लागि सरकारले ०७९ सालमा भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय संचालनमा ल्याएको छ । यस कार्यालयले सेवाग्राहीलाई सेवा दिदै आएको छ ।
कार्यालय स्थापना पश्चात पूर्वश्रम स्वीकृती, अन्तिम श्रम स्वीकृती र व्यक्तिगत श्रम स्वीकृतीको सेवा दिदै आएको थियो । तर, यस मध्ये सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतीको सेवा दिइएको छ ।

कार्यालय प्रमुख केशव भट्टराईका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा २२ हजार चार सय ५९ जना र चालु आ.व.को असोज मसान्तसम्म चार हजार सात सय ८३ जनालाई व्यक्तिगत श्रम स्वीकृतीको सेवा दिइएको छ । संस्थागत अन्र्तगत पूर्वश्रम स्वीकृतीको सेवा विभागले काठमाडौंबाहिर करिब एक वर्षअघि देखि बन्द गरेकोले सेवा प्रवाह गर्न नसिकएको उनले जनाए ।
त्यस्तै वैदेशिक रोजगारमा जाने व्यक्तिले संस्थागत अन्र्तगतकै अन्तिम श्रम स्वीकृती म्यानपावर संस्थाहुँदै सेवा लिन आउने भएकोले कार्यालय स्थापनाकालमा सेवा दिइएपनि हाल सेवाग्राहीले सेवा नलिएको बताए ।
यस कार्यालयका सेवाहरु अनलाइन मार्फत पनि प्रवाह गरिएकोले लगभग अधिकांश सेवाग्राहीले अनलाइनकै माध्यमले सेवा लिने गरेका छन् । हाल दैनिक औसत एक सय जनालाई पुनःश्रम स्वीकृती र ५० जनालाई व्यक्तिगत नयाँ श्रम स्वीकृतीको सेवा प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।
विभागले पूर्वश्रम स्वीकृती सेवा बन्द गर्नु र म्यानपावर व्यवसायीले पनि काठमाडौंबाटै पूर्व र अन्तिमश्रम स्वीकृती सेवा लिने हुदाँ वैदेशिक रोजगारीमा जाने यात्रु यी लगायत अन्य कारणले पनि काठमाडौं पुग्नुपर्ने बाध्यता छ ।
‘विभागले पूर्वश्रम स्वीकृतीको सेवा किन बन्द गर्यो ? त्यो थाहा भएन’ प्रमुख भट्टराईले भने, ‘तर, प्रदान गर्नुपर्ने सेवाहरु हामीले प्रवाह गरिरहेका छौँ ।’
म्यानपावर संस्थाहरु धेरै काठमाडौंमा भएकोले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय अनुसार भैरहवास्थित कार्यालयबाट पूर्वश्रम स्वीकृतीको सेवा बन्द गरिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए ।
‘त्यहाँ म्यानपावर संस्था धेरै नभएकोले मन्त्रालयले सेवा बन्द गर्ने निर्णय गरेपछि सेवा बन्द भएको हो’उनले क्लिक लुम्बिनीसगँ भने,‘भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उच्च प्राथमिकतामा रहेकोले फेरी सेवा प्रवाह हुन सक्छ ।’
भैरहवाको भविष्यसगँ जोडिएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले देखाएका आशाका किरणहरु प्रकाशमा बदल्नका लागि भैरहवाबाट सबै सुविधा प्रदानका होटल व्यवसायी, पर्यटन व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकार लगायत सरोकारवालाहरुले सहजीकरण गर्नुपर्ने पर्यटन व्यवसायी गुप्ताको भनाई छ ।


