


भैरहवा, २४ कार्तिक । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल संचालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवार देखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ ।
शनिवार बिहान ७ः४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो ।

जजिरा एयरवेजले सातामा मंगलबार, बिहीवार र शनिवार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने र ८ः३० बजे कुवेतका लागि प्रस्थान तालिका छ ।
भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

शनिवार राति देखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्ह देखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने उनले जनाए ।
विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि निजी क्षेत्र हौसिएको छ । भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमित कुमार गुप्ताले बताए ।
‘विमानस्थल निर्माणमा अर्बौ लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरुले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’ उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौ लगानी र धरासय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चार बाहेक अन्य वायुसेवा कम्पनीहरुलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’

