
भैरहवा, ३० कार्तिक । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी कसुरको आरोपमा बयानका लागि कार्तिक २७ गते रुपन्देही ल्याइएको थियो ।
Advertisement

Advertisement
Advertisement

भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा ७४ प्रश्नको सवाल जवाफको बयानपश्चात उनलाई शुक्रवार पोखरा लगिएको हो । लामिछानेसगँ तीन दिनमा साढे २३ घण्टा बयान लिइएको थियो ।
कसुरसगँ सम्बन्धित अन्यको बयान गर्दा वा थप कागज–प्रमाणपत्र फेला परेमा थप बयान लिए अवस्था देखिए पुनः लामिछानेसगँ बयान लिने जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए ।
बयान बिहीवार सकिएपनि पुनः कास्की पठाउन ढिलाइ हुनेभएपछि शुक्रवार उनलाई यति एयरको विमानमार्फत कास्की पठाइएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न प्रहरीले रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

