


भैरहवा, २ मंसिर । रष्ट्रिय कर सप्ताहको अवसरमा भैरहवामा सेवाग्राहीलाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवाले कर सप्ताह अन्र्तगत दोस्रो दिन आइतबार कार्यालयमा सेवा लिन आएको पहिलो सेवाग्राही राजु कौशललाई सम्मान गरेको हो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १७ कोटिहवामा लक्ष्मी साइकल सर्भिस संचालन गर्दै आएका कौशललाई प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले माला, खादा टीका लगाएर सम्मान गर्दै कर चुक्ता प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कर सप्ताहको पहिलो दिन शनिवार परेकोले आइतबार कार्यालय आएका पहिलो सेवाग्राहीको रुपमा कौशललाई सम्मानित गरिएको कार्यालयका सूचना अधिकारी एवम कर अधिकृत धनिश्वर अर्यालले बताए ।

आफु कार्यालयमा कर चुक्ता प्रमाणपत्र लिन आउदा पहिलो सेवाग्राहीको रुपमा सम्मानित हुदाँ खुसी लागेको सेवाग्राही कौशलले बताए। आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्र अन्तर्गत रुपन्देही र नवलपरासीमा गरी विभिन्न प्रकृतिका २ लाख १६ हजार करदाता रहेका छन।

