
हृदयराम गुप्ता
मर्चवार, ४ मंसिर । कोटहीमाई गाउँपालिकाले कृषि विकासका लागि विद्युतीकरणको महत्वाकांक्षी योजना सुरु गरेको छ । यस योजनाले कृषि प्रयोजनका लागि निःशुल्क विद्युत आपूर्ति हुने र पालिकाकाहरु कृषकहरु लाभान्वित हुने बताइएको छ । साथै, कृषको जीवनस्तर समेत उकास्निेमा विश्वास लिइएको छ ।
योजनाको पहिलो चरणमा वडा नं. १, २ र केही क्षेत्रको वडा नं. ३ मा तारपोल व्यवस्थापनको काम सुरु गरिएको कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए । निःशुल्क विद्युत उपलब्धताले उत्पादन लागत घट्ने र कृषी उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘सिँचाईमा खपत हुने विद्युत गाउँपालिकाबाट निःशुल्क उपलब्ध गराउँदा कृषकहरुको मनोबल उच्च हुनेछ र खेतीपातीमा धेरै सुधार हुने विश्वास लिएका छौँ ।’ मर्चवार क्षेत्र कृषि प्रधान क्षेत्र भए पनि सिँचाइको अभावले उत्पादन कमी आउने जस्ता समस्या छन् ।
उक्त योजना अन्तरगत विद्युतीय मोटरबाट सिँचाई गर्दा वातावरणमा कुनै असर नपर्ने र उत्पादन लागत पनि कम हुने बताइएको छ । यस आर्थिक वर्षमा पालिकाको वडा नं. ३, ४ र ५ मा विद्युतीकरण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जनाए ।
‘यो योजना किसानमुखी हो । मुख्य मिटर जडान गरेर कृषि क्षेत्रका लागि निःशुल्क विद्युत सेवा उपलब्ध हुनेछ’,गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष राजेश गुप्ताले भने,‘यस कार्यको लागि १ करोड ५० लाख रुपैयाँको बजेट बिनियोजन भएको छ ।’
योजनाको पहिलो चरणको विद्युतीकरणका लागि सैलुङ सूर्य निर्माण सेवा एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ । निर्माण व्यवसायीले गौतम लामाले भने,‘एक महिना भित्र तारपोल विस्तारको काम पूरा गर्ने योजना छ ।’

