


काठमाडौ, ४मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको र अफवाह फैलाएको भन्दै उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली दस्तखत रहेको थियो। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो। लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रण लिएको थियो।
साइबर सम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो। एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए। ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित यसअघि मुद्दा दायर भएको छ। उक्त मुद्दाको फैसला आउन बाँकी छ।

