
सलमान खान
भैरहवा, १० मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ विपी पथ स्थित संचालनमा रहेको मायादेवी फलफुल तथा तरकारी बजार (कान्छी बजार/पुतली बजार) मा फलफुल र तरकारी महँगीन सक्ने देखिएको छ ।
उक्त संचालित बजारको जग्गा हाल श्री नारायणस्थान मन्दिरको नाममा कायम रहेकोले श्री नारायणस्थान (मन्दिर संचालन समिति) ले २२ लाख २० हजारमा कम नहुने गरी गत कार्तिक ९ गते बजार संचालनका लागि जग्गा तथा उक्त जग्गामा बनेको संरचना भाडामा दिनका लागि बढाबढको शिलबन्दी बोलपत्रको आह्वान गरेको थियो । पाँच वर्षका लागि आह्वान गरिएको सूचना अनुसार २९ जना व्यक्ति/निर्माण व्यवसायीहरुले शिलबन्दी बोलपत्र दर्ता गराएका थिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जग्गामा बनेको संरचना भाडामा लिनका लागि २९ जना मध्ये आइतबार खोलिएको शिलबन्दी बोलपत्रमा अजय कुमार यादव नामक व्यक्तिले सबैभन्दा बढी रकम ९१ लाख रुपैयाँ कबोल गरेको श्री नारायणस्थान मन्दिर संचालक समितिका सचिव पवन पौडेलले जानकारी दिए ।
सूचना अनुसार ईच्छुक व्यक्ति, कम्पनी वा व्यापारिक फर्मका प्रोप्राईटरले शिलबन्दी बोलपत्र पेश गर्न सकिने व्यवस्था गरिएको थियो । जसअनुसार व्यक्तिहरुले पनि बोलपत्र दर्ता गराएका थिए ।
बजार संचालनका लागि जग्गा र बनेको संरचना भाडामा बापत ९१ लाख रुपैयाँमा व्यक्तिले कबोल गरेको र समितिले पनि उक्त मूल्य वा सोही बराबरको ठेक्का सदर गरेमा मायादेवी फलफुल तथा तरकारी बजारमा फलफुल/तरकारीको मूल्य ह्वात्तै आकाशिनेमा उपभोक्तहरु चिन्तित छन् ।
व्यक्ति/निर्माण व्यवसायीले जग्गा र संरचना भाडामा लिएर आम्दानीका लागि बजारमा कृषक/व्यवसायीसँग दैनिकी बैठकी बापत हालको दरभन्दा बढी मूल्य लिएमा र कृषक/व्यवसायीले पनि तरकारीको मूल्य बढाए उपभोक्ताहरु त्यसको प्रत्यक्ष मारमा पर्ने सरोकारावालाहरुले बताएका छन् ।
‘बल्ल ठेक्का खोलिएको छ । ठेक्का पाउने व्यक्ति/निर्माण व्यवसायीले पनि जति मन लाग्यो त्यती बैठकी बढाउन पाउँदैन’, सचिव पौडेलले भने, ‘उपभोक्तलाई मारमा पार्ने काम हुँदैन । हामी त्यसमा सचेत छौँ र बैठकी लगायतको विषयमा निर्णय हुन्छ ।’
निर्माण व्यवसायी/व्यक्तिले हालको दर भन्दा बैठकी नबढाएर हालकै दर कायम गरे सम्बन्धित व्यक्ति/व्यवसायी घाटामा जाने चर्चा छ । साथै, हालको बैठकीको दरभन्दा मूल्य वृद्धि भए बजारमा रहेका कृषक व्यवसायीहरु अन्य बजार तर्फ लम्किने समेत उनीहरु तयारीमा रहेको बुझिएको छ ।
‘सबैभन्दा बढी ९१ लाख परेछ । हामीले यतिसम्म जान्छ भन्ने सोचेकै थिएनौँ’, श्री नारायणस्थान मन्दिर संचालक समितिका अध्यक्ष विष्णुप्रसाद उपाध्ययले भने, ‘अब के गर्नुपर्ने हो बोर्ड बैठक बसेर निर्णय हुन्छ।’ बढी अंक कबोल भएकाको कागजपत्र जाँच हुने र ठेक्का अझै सदर नभएको उनको भनाई छ ।

