


भैरहवा, १२ मंसिर। नेपाल आयल निगम लिमिटेडको लुम्बिनी प्रादेशिक कार्यालय तथा भण्डारण डिपो निर्माणका लागि डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालयबीच बुधवार सम्झौता भएको छ ।
नेपाल आयल निगम लिमिटेड भण्डारण क्षमता वृद्धि परियोजना प्रमुख तथा निगमका उपनिर्देशक प्रदीप यादव र काठमाण्डौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा) का प्रमुख विवेक बरालबीच दस्तखतसहित सम्झौता भएको हो ।

रुपन्दहीको ओमसतिया र रोहिणी गाउँपालिकास्थित रोहिणी नदी किनारामा रहेको ११ बिघा जमिन क्षेत्रफलमा नेपाल आयल निगमले ३ अर्ब २० करोड रुपैयाँको लागतमा लुम्बिनी प्रदेशस्तरको आधुनिक भण्डारण डिपो तथा कार्यालयको निर्माण कार्य अघि बढाएको छ ।
जस अनुरुप काठमाडौं विश्वविद्यालयले भ्याटसहित १ करोड ९५ लाख ७६ हजार ५ सय ७८ रुपैयाँ ५५ पैसा (मूल्य अभिवृद्धि कर सहित) ६ महिना भित्र डीपीआर तयार गरि प्रतिवेदन नेपाल आयल निगमलाई बुझाउने सहमति भएको छ ।
परियोजनाका आयोजना प्रमुख तथा निगमका उपनिर्देशक प्रदीपकुमार यादवले रुपन्देहीको भलवारी डिपोको भण्डारण क्षमता पेट्रोलियम पदार्थको बढ्दो खपतको तुलनामा अत्यन्त न्युन रहेको र बुटवल–भैरहवाबीच घना बस्तीका कारण सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त नभएकाले रोहिणी नदी किनारामा स्थानान्तरण गर्न लागिएको बताए ।
स्वदेशमै रहेको जनशक्तिलाई उपयोग गर्न काठमाडौं विश्वविद्यालयसँग डीपीआरको सम्झौता गरिएको उनको भनाई छ ।उनका अनुसार निर्माण हुने आधुनिक भण्डारण डिपोमा ९ हजार किलोलिटर डिजेल क्षमताको तीनवटा ठुलो भर्टिकल ट्यांकी , ७ सय ६० किलोलिटर पेट्रोल क्षमताका तीनवटा ठुलो भर्टिकल ट्यांकी, २ सय ५० किलोलिटर मट्टीतेल क्षमताका दुईवटा ठुलो भर्टिकल ट्यांकी निर्माण हुने छ ।
हालको भलवारी डिपोमा ५ सय १९ किलोलिटर पेट्रोल, ३ हजार ४० किलोलिटर डिजेल र १ सय ४० किलोलिटर मट्टीतेल भण्डारण क्षमता छ । अहिलेको यो क्षमताले पेट्रोल दुई दिन र डिजेल करिब हप्ता दिनको मात्रै माग धान्न सक्छ ।उनले अमेरिकन पेट्रोलियम इन्सिच्युटको मापदण्डलाई पूर्ण रुपमा पालना गरि डिपोमा नविन प्रविधिको सुरक्षा प्रणाली जडान गरिने बताए ।
विश्वविद्यालय कन्सल्टेन्सी सेवाका प्रमुख विवेक बरालले डीपीआर निर्माण मात्र नभई सिक्ने र सिकाउने अवसरमा पनि भएको र परियोजनाले विश्वास गरेकोले आकर्षक डिजाइन बनाउन दत्तचित्त भएर लाग्ने बताए । उनले तोकिएको समयमा डीपीआर बनाएर हस्तान्तरण गर्ने जनाए ।
डिपो भित्र कम्तीमा एक सय ५० वटा टैंकट्रक सजिलै आवात जावत गर्न सक्न ठूलो क्षमताको पार्किङ स्थल पनि बताइएको छ । नेपाल आयल निगम लिमिटेडले लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको सहज आपूर्ती सुनिश्चित गर्न रुपन्देहीको भलवारीमा प्रादेशिक कार्यालय र बाँकेको नेपालगञ्जमा शाखा कार्यालय संचालन गरी सेवा उपलब्ध गराइरहेको छ । यसमध्ये भलवारी डिपोको कार्यक्षेत्र तुलनात्मक रुपमा ठूलो छ ।
रोहिणी नदिको किनारमा रहेको भण्डारण गृहले धेरै समस्याहरु हटाउने यादवको विश्वास छ । नेपाल आयल निगमले अहिले प्रादेशिक रुपमै यस्ता भण्डारण गृहहरुको निर्माणको योजना बनाएको उनले बताए ।

