
भैरहवा, मंसिर १३ । के तपाईले गरिरहेको कृषिको उब्जनीमा बृद्धि भएको छैन ? खेतको माटो अर्कै र तपाईले अर्कै वस्तुको कृषि त गरिरहनु भएको छैन ? तपाईले गर्ने कृषिको माटो कस्तो छ ? कतै माटो कै कारणले त उत्पादनमा कमी आएको छैन ? यस्तै प्रश्नको जानकारीसहित माटो परिक्षण गराउन चाहनु भएको छ भने चिन्ता नलिनुहोस् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले कृषकहरुलाई लक्षित गरेर भैरहवामा आयोजना गर्न लागेको लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परिक्षणको व्यवस्था मिलाएको छ ।
Advertisement

Advertisement
Advertisement

कृषकले कृषि गरिरहेको वा गर्न खोजेको खेतबारीको माटो थोरै परिमाणमा साथमा लिएर महोत्सवमा निःशुल्क रुपमा माटो परिक्षण गरिने र साथै आवश्यक जानकारी समेत प्रवाह हुने आयोजकले जनाएको छ ।
हाल खेतबारीमा बढ्दो रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास गरिरहेको छ । जसकारण कृषि उब्जनीसँगै विभिन्न समस्याबाट कृषकहरु ग्रसित छन् ।
‘कृषि क्षेत्रमा रासायनिक मलको प्रयोगले उब्जनीको कमीले किसानहरुले चाहेको जति उब्जनी बढाउन सकेका छैनन्’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भने, ‘अब के गर्ने ? कसरी गर्ने ? भन्ने विषयको पनि केहीलाई जानकारी छैन ।जसकारण पनि हामीले महोत्सवमा माटो परीक्षण शिविर लगाउँदैछौँ । शिविरले किसानहरु लाभान्वित हुने विश्वास लिएका छौँ ।’
सबै किसानहरुको प्रयोगशालासम्म पहुँच र नजिक प्रयोगशाला समेत नभएकाले कृषकहरुलाई फाइदा पुग्ने गरी महोत्सवमा जानकारी सहितको माटो परिक्षणको व्यवस्था मिलाइएको उनले बताए । मंसिर २० देखि पुस १ सम्म चल्ने महोत्सवमा मंसिर २६, २७ र २८ गते तीन दिन माटो परीक्षणका लागि समयावधि तोकिएको छ ।
‘उद्योग–व्यवसाय र पर्यटनसँगै कृषि हाम्रो समृद्धिको आधार हो । ठूलो हिस्सा नेपालीहरु कृषि खेतीमा लाग्नुभएको छ’, उनले भने, ‘महोत्सवले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई पनि जोड दिएको छ । यसका लागि माटोको उर्वराशक्ति राम्रो हुनु अत्यन्तै आवश्यक छ । यसैले माटो परीक्षण गरेर किसानलाई आफ्नो उब्जाउ भूमिको यथार्थ जानकारी गराउने कोसिस गरेका छौं ।’
आयोजकले महोत्सवमा कृषि प्याभेलियन निर्माणको तयारी गरेका छन् । उक्त प्याभेलियनमा माटो परीक्षण हुनेछ । यससँगै कृषिको प्रदर्शनी हुने भएकाले नयाँ कृषि उद्यम गर्न चाहनेलाई सिकाई मिल्ने छ । यस्तै, कृषि व्यवसाय गर्न चाहनेले कस्तो माटोमा कुन खेती गर्दा उब्जनी र मुनाफा हुन्छ भन्ने बारे जानकारी पाउनेछन् ।
‘महोत्सवमा नेपालगंजका प्राविधिकहरुको सहयोगमा माटोको निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ । किसानहरुले आफ्नो खेतबारीको माटो परीक्षण गर्न सक्नुहुनेछ’, संघको सदस्य एवं कृषि व्यवस्थापन समिति संयोजक यमकला न्यौपानेले भनिन्, ‘धेरै भन्दा धेरै किसानलाई यसबाट लाभ लिन आग्रह गर्दछु ।’
यसका लागि ग्रामीण क्षेत्रका कृषकलाई लक्षित गरि विशेष स्टल राखिने मेला आयोजकले जनाएका छन् । भैरहवा तथा यस आसपास रहेका तिलोत्तमा, धकधई, मर्चवार, अमवा, लुम्बिनी, गैडहवा, कंचन, सिद्धार्थनगर लगायतका कृषकलाई लक्षित गरि मेलामै माटोको निःशुल्क परीक्षण गरिने छ ।
‘माटोको परीक्षण पछि प्राविधिकहरुले कुन मौसममा कुन खेती गर्दा उपयुक्त हुन्छ, कसरी लाभ उठाउन सकिन्छ भनेर समेत सिकाउनेछन्’, न्यौपानेले भनिन्, ‘यससँगै माटोमा अम्लियपन वा अन्य जिवाणु देखिए रोकथामको उपाय समेत सिकाइने छ ।’
यसका लागि नेपालगंजबाट विज्ञसहितको टोली आउने बताइएको छ ।महोत्सवमा कृषि प्राविधिकहरुले माटोको परीक्षण गरि त्यसको उचित उपचारको विधिबारे जानकारी दिने भएकाले यसबाट कृषक लाभवान्वित हुन सक्ने संघका सचिव समेत रहेका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीको जानकारी दिए ।
‘आफ्नै घरआँगनमा लाग्न लागेको महोत्सवमा आएर माटो परीक्षण गरी अधिकतम फाइदा लिन सम्पूर्ण कृषकहरुलाई हाम्रो आग्रह छ’, उनले भने, ‘नजिक, विज्ञ प्राविधिकबाट परीक्षण हुने र निःशुल्क भएकाले जतिसक्दो धेरै किसानलाई जानकारी दिन समेत हाम्रो अनुरोध छ ।’

