
भैरहवा, १३ मंसिर। के तपाई सामाजिक संजाल टिकटकको प्रयोगले भीडियोहरु बनाएर पोस्ट् गर्ने गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने तपाईको लागि खुशीको खबर हो यो । नियममा रहेर भीडियो बनाएर टिकटकमा पोस्ट् गर्नेलाई नगदसहित आर्कषक पुरस्कारको व्यवस्था गरिएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवाको अंचलपुरमा आगामी मंसिर २० गते देखि पुस १ गतेसम्म आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सवको ‘लुम्बिनी महोत्सवमा घुम्न जाऔं’ भनेर उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई नगदसहितको पुरस्कारको व्यवस्था गरेको हो।
Advertisement

Advertisement
Advertisement

महोत्सवको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले जानकारी दिए ।
‘आजभोली धेरैले टिकटकको प्रयोग गरेर भीडियोहरु बनाएर पोष्ट् गर्नुहुन्छ । त्यसैले महोत्सव आयोजना हुन लागेको/संचालन भइरहेको विषयमा भीडियो बनाएर पोष्ट् गरी प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका छौँ’,उनले भने, ‘प्रतियोगितामा धेरै सहभागी भएर आफ्नै महोत्सवको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा पुर्याउनु हुनेछ भन्नेमा विश्वस्त छौँ ।’
उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउने व्यक्तिले महोत्सवलाई केन्द्रित गरी प्रचारप्रसार हुने प्रकारको नेपाली अक्षरमा ‘#९औंलुम्बिनीराष्ट्रियमहोत्सव२०८१’ लेखेर भीडियो बनाएर आफ्नो टिकटकको अकाउण्टमा पोस्ट् गर्नुपर्ने छ ।
यस्तै, प्रतियोगितामा जुनसुकै उमेर समूहकाले एकल वा सामूहिक रुपमा पनि भीडियो बनाएर पोस्ट् गर्न सक्नेछन् ।
प्रतियोगितामा सहभागीता जनाउनेले पहिलो चरणमा मंसिर १२ गतेदेखि १९ गतेसम्म ‘घुम्न जाउ लुम्बिनी महोत्सव’ भनेर सन्देशमूलक र प्रचारात्मक भीडियो बनाएर पोष्ट गर्नुपर्नेछ । र, दोस्रो चरणमा महोत्सव सुरु हुने मंसिर २० देखि २९ गतेसम्म महोत्सवको विशेषतामा केन्द्रित भएर भीडियो बनाएर पोस्ट् गर्नुपर्ने आयोजकले जनाएको छ ।
‘सहभागीले एक वा दुवै चरणमा छुट्टाछुट्टै भीडियो बनाएर टिकटकमा पोस्ट् गर्न सक्छन्’, उनले भने, ‘पहिलो चरणको भीडियोबाट महोत्सव घुम्न जाउ भन्ने सन्देश प्रवाह गर्छ भने दोस्रो चरणको भीडियोले महोत्सवका विशेषता उजागर गर्नेछ ।’
नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भीडियोलाई प्रचार समितिले विजेता घोषणा गर्नेछ । विजेता घोषणा गर्दा टिकटक बनाएर पोष्ट गरेको मिति, त्यसले दिएको सन्देश तथा प्रचारप्रसारको अवस्था, लाइक, भ्युज र शेयरलाई आधार मानिने आयोजकले जनाएको छ । विजेतालाई ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारसहित आकर्षक उपहार प्रदान गरिने संघले जनाएको छ ।
संघका अध्यक्ष तथा मेला मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले भैरहवा र यस आसपासको आर्थिक गतिविधिलाई बढवा दिन पनि टिकटक प्रतियोगिताले केही न केही सहयोग पुग्ने बताए ।
‘कतिपय दर्शक टिकटक हेरेर पनि मेला भर्न आउने हाम्रो अनुमान छ’, उनले भने, ‘मेलामा आउनेले केहीले खरिद गर्नुहुन्छ, केहीले खानपिन गर्नुहुन्छ । केहीले यहाँ प्रदर्शनीमा राखिएका सामानका बारे बुझ्ने र जानकारी लिने गर्नुहुन्छ । तसर्थ प्रतियोगिताको धेरै महत्व छ ।’
आयोजना गर्न लागिएको महोत्सव आयोजक मात्र नभई सबैको भएकोले महोत्सवलाई सफल पार्न सबैलाई उनले अपिल गरे ।

