
भैरहवा, १७ मंसिर । भैरहवा क्षेत्रका उद्योगी–व्यवसायी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र बद्धिजीवीहरुले आयोजना हुन लागेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सबैको साझा पर्व भएको बताएका छन् । उनीहरुले नेपालीहरुका ठूला चाडपर्व जस्तै यो महोत्सवमा सबै क्षेत्रको प्रबद्र्धन हुने भएकाले साझा पर्व भएको जनाए ।
महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले लुम्बिनी राष्ट्रिय महोत्सव आयोजना स्थल भैरहवास्थित अंचलपुरमा आइतबार आयोजना गरेको छलफलमा बोल्ने वक्ताहरुले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र नयाँ उद्यमशिलता विकासमा सहयोग पुग्ने भएकाले मेलालाई सबैले साझा पर्व सम्झिएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
Advertisement

Advertisement
Advertisement

उद्योग ब्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सव निजी क्षेत्रसँगै सबै तह र तप्काका नागरिकको विशेष पर्व भएको बताए । ‘कृषि, पर्यटन, उद्योग–व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यमशीलता विकास सबै–सबै क्षेत्रमा महोत्सवले सकारात्मक प्रभाव पार्छ’, उनले भने, ‘यसैले आयोजक संस्था एउटा भए पनि हामीले पर्वका रुपमा मनाउनुपर्छ र सोहीअनुसार सहयोग गर्न जरुरी हुन्छ ।’
उनले महोत्सव सफल पार्न स्थानीय सरकारको अझै अहम् भूमिका हुने बताए । ‘कम्तिमा रुपन्देहीका सबै पालिकाले आफ्नो क्षेत्रबाट आठ–दशजना व्यवसायीलाई आफ्नै खर्चमा पालिकाहरुले यहाँ पठाउनुपर्छ’, उनले भने, ‘यसले सम्बन्धित पालिकाको व्यवसायको प्रबद्र्धन हुन्छ, नयाँ कुरा सिकाई हुन्छ । यसैले पालिकाको सहयोग जरुरी छ ।’
उनले सधैभरी अस्थायी संरचनामा महोत्सव गर्नुपर्ने बाध्यता रहेको भन्दै तत्काल भैरहवा मण्डप व्यवस्थापन र निर्माणका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजयगोविन्द श्रेष्ठले महोत्सवले उद्यमशीलता विकास गरेमा यसले सार्थकता पाउने जनाए । अन्य ठाउँभन्दा महोत्सवमा हरेक वस्तु सस्तो हुनुपर्नेमा जोड दिए ।
सिद्धार्थ संजालका अध्यक्ष अनिलकुमार ज्ञवालीले लुम्बिनी महोत्सव सिंगो जिल्लाबासीका लागि एउटा उत्सव भएको जनाउँदै फरक किसिमको आकर्षण दिन सक्नुपर्नेम जोड दिए । यस्तै, उनले बेलहियाबाट मेलास्थलसम्म सिधा सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने र भारतीय तथा विदेशी पर्यटकलाई मेलामा आएको खण्डमा लुम्बिनी भ्रमण निःशुल्क गराउनुपर्नेमा जोड दिए ।
उत्प्रेरक ट्रेनर कृष्ण शाह, प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदयकुमार मल्लिक, नेपाल–भारत मैत्री संघ बेलहिया शाखा अध्यक्ष पशुपतिप्रसाद कान्दु, नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अध्यक्ष दीपक क्षेत्री न्यौपाने, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, सिद्धार्थ सामुदायिकका अध्यक्ष गोविन्दप्रसाद बश्याल, रेडक्रस उपशाखा बेलहिया अध्यक्ष राकेश गुरुङ, युवा व्यवसायी लेखनाथ भट्टराई, पर्यटन व्यवसायी राजेश महत्रा लगायतले बोल्दै महोत्सवमा साहित्यिक कार्यक्रम पनि गर्नुपर्ने, नयाँ उद्यमी लक्षित ट्रेनिङ गर्नुपर्ने, सहज यातायातको व्यवस्थापन गर्नुपर्ने, कुस्ती खेल राख्नुपर्ने, सुरक्षालाई विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव राखे । उनीहरुले महोत्सव सफल पार्न आफूहरुले सबै किसिमको सहयोग गर्ने विश्वास दिलाए ।
संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक ठाकुरकुमार श्रेष्ठले यसअघिका आठवटा महोत्सव सफलतापूर्वक सम्पन्न गरी नवौं आयोजना गरिएको जनाउँदै यसको सफलता नै भैरहवा क्षेत्रको सफलता भएको बताए । उनले उद्घाटन सत्रमा हुने र्यालीमा सबै संघसंस्थालाई ब्यानरसहित सहभागी हुन आग्रह गरे ।
उनले महोत्सवले उद्योग–व्यापारको प्रबद्र्धन गर्ने मात्रै नभई यहाँको कलासंस्कृति, पराम्परा, रितिरिवाजको संरक्षण र प्रबद्र्धन समेत गर्ने भएकाले सबैको सहयोगको अपेक्षा लिइएको जनाए । ‘मेलाले सबै क्षेत्रको प्रबद्र्धन गर्छ नै समग्रमा अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्छ’, उनले भने, ‘यसैले सबै मेला भर्न आउ र सफल बनाऔं ।’ उनले विद्यार्थी, महिला उद्यमी, जेष्ठ नागरिकलाई छुट सुविधा दिइएको बताए ।
लुम्बिनी महोत्सव अगामी मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना गरिएको छ ।

