
भैरहवा, २ पुस । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको हो ।
संघीय सरकारका गृहमन्त्री रमेश लेखक र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको विशेष उपस्थितिमा सुरक्षा गोष्ठी सुरु भएको छ । गोष्ठीलाई सम्बोधन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको एकल र साझा सूचीका अधिकार कार्यान्वयन गर्न संघीय सरकारले सघाउनुपर्ने बताएका छन् ।
Advertisement

Advertisement
Advertisement

प्रदेशमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्ने देखी प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन समेत प्रदेश सरकारलाई रोकेको बताए । उनले तत्काल प्रदेशमा प्रहरी समायोजन देखि प्रदेश अनुसन्धान ब्यूरो स्थापना गर्ने विषयमा संघीय सरकारको ध्यानाकर्षण गराए ।
‘प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले प्रहरी कार्यालयको भवन निर्माण गर्न हालेका बजेट समेत कार्यान्वयन हुन नसक्ने अवस्था छ । गत वर्षको बजेट पनि खर्च हुन सकेन’, उनले भने, ‘संघीय सरकारले अनुमति नदिदा प्रहरी कार्यालय बनाउन हालिएका बजेट फ्रिज हुन पुगे । यस वर्ष पनि प्रदेश सरकारले प्रहरी कार्यालय भवन निर्माण गर्न बजेट विनियोजन गरेको छ ।’
प्रदेशभित्र प्रहरी कार्यालय भवन जीर्ण हुँदा समस्या परेको, प्रदेश सरकारले भवन निर्माणका लागि ध्यान दिए पनि प्रहरी समायोजनको विषय अघि नबढ्दा समस्या परेको उनको भनाइ छ ।
त्यस्तै प्रदेश सरकारले संघीय सरकारले साझा र एकल सूचीका अधिकारलाई प्रदेशमा कार्यान्वयनका लागि नपठाउदा समस्या परेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘संघीय निजामती सेवा ऐन नआउँदा प्रदेशमा काम गर्न जटिलता छ । हामीले बनाएको ऐन समेत कार्यान्वयन गर्न खोज्दा समस्या देखियो’उनले भने,‘संघीय शिक्षा ऐन समेत नआउँदा प्रदेशले काम गर्न पाएन ।’

