


भैरहवा,११पुस। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीवार उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
दिल्लीस्थित एम्स अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनको बिहीवार राति ९ः५१ बजे निधन भएको हो । कांग्रेसका नेता रहेका ९२ वर्षीय सिंह सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्री थिए।

‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो’, जारी विज्ञप्तीमा भनिएको छ, ‘बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’


