
भैरहवा, १६ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा रुपन्देहीको भैरहवामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१ तरिख) ‘स्ट्रीट फूड फेस्ट’ (सडक खाना महोत्सव–२०२५ हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै रमाउँ, पर्यटकहरुलाई स्वागत गरौं, स्थानीय खाना र बजारको प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा आज महोत्सव हुने भएको हो ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले महोत्सवमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् । अध्यक्ष श्रेष्ठले स्थानीय कलाकार, स्थानीय परिकारको प्रवर्द्धनमा जोड दिदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाहुनालाई स्वागत गर्न तयार छौं भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको बताए ।
Advertisement

Advertisement
Advertisement

‘महोत्सव सञ्चालन गर्न विभिन्न किसिमले सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौं’उनले भने, ‘यो कार्यक्रमले बजार चलायमान गर्नुका साथै भैरहवामा रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्न सहयोग गर्नेमा विश्वस्त छौं ।’ एक वर्षमा ४-५ पटक सडक खाना महोत्सव सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । प्रहरीटोलमा हुने महोत्सवको मंगलबार साँझ ६ बजे देखि सुरु हुने बताईएको छ।
संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अंग्रेजी नयाँ वर्ष २०२५ लाई स्वागत गर्दै आयोजना गरिएको सडक खाना महोत्सवमा ४० वटा स्टल राख्ने तयारीमा रहेको बताए । त्ससमध्ये ३० वटा स्टल बुक भइसकेको र बाँकी स्टल आज आउने उनले बताए ।
‘सानादेखि ठूला होटलसम्म परिकार रहनेछन्, सकभर स्टल कम राख्ने गरी अघि बढेका छौं’ उनले भने, ‘एउटैप्रकारका स्टल भन्दा पनि थारु, नेवारी, गुरुङ, मगर लगायत विभिन्न समुदायहरुको खानाका परिकार राखिनेछ । आएका स्टलधनीको धेरै व्यापार होस् र उहाँहरु खुशी भएर जानुहुन्छ भन्ने योजनाका साथ अघि बढेका छौं ।’
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका रुपन्देही, यूनिक साउण्ड भैरहवा, संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश,प्रवर्द्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, प्रायोजकमा र ग्रोखा ब्रुअरी सह-प्रायोजकमा रुद्राक्ष मार्ट रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् ।
त्यस्तै सहयोगी संस्थाहरुमा सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ होटल संघ (सान), होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, लुम्बिनी प्रेस क्लब रुपन्देही, आस्था महिला उद्यमी संघ, मोबाइल व्यवसायी संगठन रुपन्देही, मदिरा व्यवसायी संघ भैरहवा, सोसाईटी अफ टुर्स एण्ड ट्राभल्स (सोट्टो), नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा), सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. र सिद्धार्थ यातायात व्यवसायी प्रा.लि. रहेका छन् । महोत्सवको मुख्य सहयोगी यूनिक बैंक्वेट भैरहवा रहेको छ ।

