


बुटवल, १८ पुस । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिष्पर्धाबाट छनोट गरिएको नगर गान छकार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट समेत अनुमोदन गरिएको छ।
प्रतिस्पर्धामा १४ जना सहभागी मध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको थियो। सोही नगर गान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।

यस्तो छ नगरगान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।

