
पश्चिम नवलपरासी,२८ पुस। पश्चिम नवलपरासीमा शिक्षकको कुटाईबाट विद्याथीको आँखा फुटेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालाको शिक्षिका सन्जु चौधरीले यूकेजी कक्षमा अध्यनरत ६ वर्षीय प्रशान्त चौधरीलाई लठ्ठीले हान्दा उनको बायाँ आँखा फुटेको हो ।
घटना गत मंसिर १८ गतेको हो ।तर, प्रहरीमा ढिलो गरेर उजुरी परेपछि मात्रै घटना सार्वजनिक भएको हो । प्रहरीले गत पुस १९ गते शिक्षिका चौधरीविरुद्ध अदालतबाट पक्राउ पूर्जी लिएपछि उनी फरार छिन् ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले नबालकलाई हान्दा उनको आँखामा चोट लागेको थियो। अभिभावकले स्थानीय अस्पताल हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पतालमा लगेपछि चिकित्सकले बालकको आँखाको नानी फुटेकाले देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताए।
उनका अनुसार बायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन । चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले समय समयमा फ्लोअपका लागि अस्पतालमा जाने गरिएको उनको भनाई छ ।
‘आँखाको पर्दामा ब्लड जमेकोले त्यो आँखाको अप्रेसन गरेपछि मात्र फेरि अर्को एउटा अप्रेसन गर्नुपर्छ’, उनले भने, ‘लामो समयसम्म उपचार गराउनुपर्ने भएकोले फलोअपका लागि जाने गरेका छौँ ।’
काठमाडौमा उपचारपछि मात्र प्रशान्तका अभिभावकले पुस १६ गते ईलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध जाहेरी दिएका थिए । जाहेरी दर्ता पश्चात घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको पश्चिम नवलपरासीका प्रहरीका डिएसपी रेशम बोहराले बताए ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार घटनाका सम्बन्धमा दुई पक्षबीच दुई पटकसम्म छलफल भएको छ । आफूहररुले बालकको उपचारलाई पहिलो प्राथमिकता दिएको उनको भनाई छ । ‘यो घटनामा हामीले सबभन्दा पहिले उपचार गराउनपर्यो भनेर परासी, भैरहवा हुँदै काठमाडौं पठायौँ । उहाँहरु उपचारको क्रममै हुनुहुन्छ’, उनले भने ।

