
सलमान खान
भैरहवा, २९ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित मायादेवी फलफुल तथा तरकारी बजार (कान्छी बजार) संचालनका लागि आह्वान गरिएको शिलबन्दी बोलपत्रको प्रक्रियालाई लिएर जिल्ला अदालत रुपन्देहीमा रिट दायर भएको खुलेको छ ।
Advertisement

Advertisement
Advertisement

गत कार्तिक ९ गते श्री नारायणस्थान (मन्दिर संचालन समिति) ले २२ लाख २० हजारमा कम नहुने गरी बजार संचालनका निम्ति जग्गा तथा उक्त जग्गामा बनेको संरचना पाँच वर्ष भाडामा दिनका लागि बढाबढको शिलबन्दी बोलपत्रको आह्वान गरेको थियो ।
सोही बोलपत्रको प्रक्रिया नमिलेको भन्दै निषेधाज्ञा आदेशको माग गर्दै एक निर्माण व्यवसायीले श्री नारायणस्थान भैरहवा, संचालक समिति र सचिवालयलाई विपक्षी बनाउँदै जिल्ला अदालत रुपन्देहीमा रिट दायर गरेको स्रोतले बताएको छ ।
जसमा गत पुस २२ गते जिल्ला न्यायाधिश चाणकमणि अर्यालको एकल इजलासले उक्त विषयमा लिखित जवाफसहित उपस्थित हुनका लागि विपक्षीहरुमा नाममा आदेश गरेको बुझिएको छ।
‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिम निषेधाज्ञाको आदेश किन जारी हुनु नपर्ने हो ?’,आदेशमा भनिएको छ,‘ निषेधाज्ञाको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए सो को साथै सूचनाको म्याद भित्र के कति बोलपत्र दर्ता भएको छ ? सो बोलपत्र सूचना बमोजिम खोलिएको छ, छैन ? सो समेत खुल्ने गरी लिखित जवाफ पेश गर्नु…।’
गत मंसिर २९ गते खोलिएको शिलबन्दी बोलपत्रमा सबैभन्दा बढी रकम क्रमशः अजय कुमार यादव नामक व्यक्तिले ९१ लाख, शितला निर्माण सेवाले ७० लाख र एबी कालिका बिल्डर्सले ६६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ अंकमा कबोल गर्ने गरी कागजात पेश गरेका थिए ।
जसअनुसार पहिलो र दोस्रो रकमको अंक दाखिला गर्ने व्यक्ति र निर्माण व्यवसायी विभिन्न कारण देखाउँदै सम्झौताका लागि नआएपछि तेस्रोमा रहेको एबी कालिका बिल्डर्ससँग बजार संचालनका लागि सम्झौता गरिएको श्री नारायणस्थान मन्दिर संचालन समितिका अध्यक्ष विष्णु उपाध्ययले जानकारी दिए ।
मन्दिर समितिले आह्वान गरेको ठेक्का बढी मूल्यमा सम्झौता भएपछि ठेकेदार पक्षले कृषक/व्यवासायीहरुसँग दैनिक बैठकी रकम साविक दरभन्दा बढी लिने र तरकारी व्यवसायीले पनि तरकारीको मूल्यमै बैठकीको रकम जोड्ने भएकोले उपभोक्ताहरुको ढाड सेकिने भएको छ ।
तरकारीको मूल्य मंहगो नहुन दिनका लागि उपभोक्ताहरुले मन्दिर संचालन समिति लगायत सरोकारवालाहरुसँग आग्रह गरेका छन् । यदि ‘कान्छी बजार’मा बैठकी र तरकारीको मूल्य मंहगो भएमा कृषक/व्यवासायी, सर्वसाधारण उपभोक्ताहरु संचालनमा आउन लागेको नयाँ तरकारी तथा फलफुल बजारतर्फ लम्किने सम्भावना देखिएको छ ।

