
भैरहवा, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा पनि सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ४४ जना बचतकर्ताको पुरक जाहेरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले आइतबार मुल मुद्दाका २८ जनामध्ये थप अभियोगपत्रबाट ८ जना र पुरक अभियोगपत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जना गरी २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यस अघि बैशाख ३ गते अदालतमा पेश भएको अभियोग पत्रबाट २८ जनाविरुद्ध सहकारी ठगी र माघ ३ गते पेश भएको थप अभियोग पत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धिकरण र अन्य १६ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध मुद्दा दर्ता भएको छ ।
त्यस्तै पुरक अभियोगपत्रबाट प्रतिवादी कायम भइसकेका २८ जनामध्ये आठ जना र नयाँ प्रतिवादी १४ जना गरी २२ जनाविरुद्ध आइतबार सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
आइतबार दर्ता भएको पुरक अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, कर्मचारी लक्ष्मीप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ ।
रुपन्देही जिल्लाका न्यायाधिवक्ता पौडेलका अनुसार मुल अभियोगपत्रबाट २८ जना उपर दर्ता भएको सहकारी ठगी मुद्दामा २८ जना प्रतिवादीहरुसँग ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो मागदावी गरिएको छ । त्यस्तै थप अभियोगपत्रबाट १७ जना प्रतिवादीहरुसगँ २ करोड सात लाख ९४ हजार ५ सय ४० रुपैयाँ र पुरक अभियोगपत्रबाट २२ जना प्रतिवादीहरुसँग ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४१ रुपैयाँ विगो मागदावी गरिएको छ ।
पुरक अभियोगपत्रबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आवद्ध रहेका रवि लामिछाने, छविलाल जोशी, गितेन्द्रबाबु (जिबी) राई, लक्ष्मीप्रसाद पौडेलविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा उनीहरुसँग कुल १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगो मागदावी गरिएको छ ।

हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी रकम ठगीको अभियोगमा जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौंमा ६० लाख धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।

