
भैरहवा, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुनका लागि मंगलबार भैरहवा आइपुगेका छन् ।
लामिछानेमाथी जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएपछि मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित हुन भैरहवा आइपुगेका हुन् ।
Advertisement

Advertisement
Advertisement

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गत माघ ६ गते अदालतमा दर्ता भएको पुरक अभियोगपत्रमा उनलाई प्रतिवादी बनाइएको छ ।
मंगलबार बुद्ध एयरलाइन्सको उडान नम्बर यू ४-८५९ बाट श्रीमती निकिता पौडेल लामिछानेका साथ साँझ उनी भैरहवा आइपुगेका पुगेका हुन् । रास्वपा स्रोतका अनुसार अदालतमा मुद्दा दर्ता भएपछि उनी अदालतमा उपस्थित हुनका लागि भैरहवा आएका हुन् ।
भैरहवाको होटल मेरिगोल्डमा बसेका पूर्वगृहमन्त्री समेत रहेको लामिछाने अदालतमा हाजिर भएपछि उनको बयान हुनेछ र त्यसपछि थुनछेक बहस सुरु हुनेछ ।
हालसम्म सहकारीको रकम अपचलन गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीमा कुल ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यी ४२ जनाबाट सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा कुल एक अर्ब ४३ करोड ८६ लाख २ हजार एक सय ३५ रुपैयाँ बिगो मागदावी गरिएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक हजार ९ सय ३ तीन जना बचतकर्ता छन् भने एक हजार ८ सय ७२ जनाले कुल ४२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका हुन् ।
लामिछाने पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका छन् । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा उनी थुनामुक्त भएका हुन्।

