


भैरहवा, १३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने न्यायालयप्रति आभार व्यक्त गरेका छन् ।
जिल्ला अदालत रुपन्देहीमा उनीसमेत विरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहसपछि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा लामिछानेलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीशको आदेशपछि बैंक ग्यारेन्टी मार्फत् धरौटी रकम बुझाएर अदालतबाट रिहा हुँदै लामिछानेले भने- ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन । भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु ।जति पनि देश–विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद ।’
अदालतको आदेशमा भनिएको छ- ‘नारायण बहादुर पहाराई समेतको जाहेरीले नेपाल सरकार वादी र प्रतिवादी लामिछाने भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा नेपाल सरकारबाट पुरक अभियोग पेस भएको मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीले आरोपति कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरि हाललाई प्रतिवादी लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ कोदफा ६८ बमोजिम एक करोड नगद धरौट, जेथा,जमानत वा सर्तरहित बैंक ग्यारेन्टी दिएमा लिइ तारेखमा राख्नु, दिन नसकेमा थुनुवा पूर्जी दिइ थुनामा राख्न पठाउनु ।’

