


भैरहवा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेसमेत विरुद्ध दर्ता भएको सहकारी र संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीवार देखि सुरु भएको थुनछेक बहस आइतबार सकिएपछि न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले धरौटीमा छाड्न आदेश गरेसँगै लामिछानेले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएर रिहा भएका छन् ।

‘गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले नै आर्थिक कारोबार गर्ने गरेको पाइएको भन्ने वित्तीय विश्लेषणको प्रतिवेदन ग्लोबल आइएमई बैंकमा रहेको खाता न. ००४०१०१०००००५७७, नविल बैंकको खाता नं.०१९०१०१७५०२१८१ र सिभिल बैंकको खाता नं. ००२१०६१२११००१२ यी प्रतिवादी रवि लामिछाने समेतका अन्य सह प्रतिवादीहरूको संयुक्त नामबाट सञ्चालनमा रही यी प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट चेकहरू जारी भएको मिसिलमा पैन भएको चेकहरूबाट देखिएको र उक्त खाताबाट जारी भएका चेकहरूमा मेरो सही रहेको भनी प्रतिवादी रवि लामिछानेले बयान गरेको समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट देखिएकाले यी प्रतिवादीले आरोपित कसूर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम रु.१,००,००,०००।- (अक्षरुपी एक करोड रुपैयाँ) नगद धरौट जेथा जमानत वा शर्तरहित (Unconditional) बैंक ग्यारेन्टी दिएमा लिई तारेखमा राख्नू,’ आदेशमा भनिएको छ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पुरक अभियोग पत्रबाट लामिछानेसमेत विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरेको थियो ।
हेर्नुहोस् आदेशः







