
दाङ, २१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका छन् । प्रदेश स्थापना दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताएका हुन् ।
‘विगत ७ वर्षमा संघीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौं’उनले भने,‘लुम्बिनी प्रदेशको आफ्नै प्रशासनिक संरचना, विकास मोडेल, जनअपेक्षा पुरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु । स्थापनाको आठौं वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकहरुको भरोसाको रुपमा स्थापित हुन सफल भएको बताउन पाउँदा हामी उत्साहित छौं ।’
Advertisement

Advertisement
Advertisement

प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानूनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपना लगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको उनले बताए । राजनीतिक अस्थितरताको अन्त्य गरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिएको छ ।
लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो । प्रदेश सरकारले दुईवटा दिवसलाई एकैदिन मनाउने गरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउन थालिएको हो ।

