


भैरहवा, ३० माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम तथा बचत ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वडिआइजी छविलाल जोशीलाई पूर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालतले जिल्ला अदालतबाट आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ ।
मुद्दाको प्रतिवादका लागि सोमबार अदालतमा उपस्थित भएका जोशीलाई जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनसबि आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई पूर्पक्षका लागि थुनामा पठाउने’ आदेश गरेको थियो ।

त्यसपछि जोशीको तर्फबाट थुनामा राख्ने आदेश बदरको माग गर्दै मंगलबार दर्ता भएको निवेदन उपर बुधवार सुनुवाई गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको एकल बेन्चले जिल्ला अदालत रुपन्देहीसँग आदेशको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी राम बहादुर कुवँरले जानकारी दिए ।
‘आदेश अनुसार जिल्ला अदालतबाट कैफियत प्रतिवेदन आउँछ’,उनले भने, ‘त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’ सहकारी ठगी प्रकरणमा पोखरा र काठमाडौंमा जोशी विरुद्ध दर्ता भएको मुद्दामा उनी दुवै स्थानको जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।

