


काठमाडौं,१५ फागुन। काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा उज्वेकिस्तानका तीन महिला अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र पुरुष सरदार तुर्सुनोभ रहेका छन्।

दुबई-काठमाडौंको दुबई एफजेएड ५७५ उडानबाट बुधबार राति नेपाल आएका उनीहरुको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।
उनका अनुसार भन्सारबाट जाँचपास सकेर निस्किने क्रममा शंका लागेर खानतलासी गर्दा सुन बरामद भएको हो।
सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

