


भैरहवा १८ फागुन। शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बौद्ध स्थलहरुको पर्यटन प्रर्वद्धनका लागी आयोजित ‘बुद्ध ज्ञान साईकल यात्रा’ सकिएको छ।
फागुन १६ गते भैरहवाको बुद्धचोकबाट सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’ १७ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुगेर सकिएको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए। साईकल सिटी भैरहवाको आयोजनामा गत बर्ष देखि सुरु भएको ‘बुद्ध ज्ञान साईकल यात्रा’को दास्रो संस्करणमा जर्मन, भारत र नेपालका गरी एक सय तिस साईकिलिष्टहरु सहभागी थिए।

दुई दिने यात्रामा सबै भन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी थिए। त्यस्तै जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ बर्षका कमल जित दिमन र ७१ बर्षिय बिस्हु दिमन सहभागी रहेको साईकल सिटी भैरहवाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए।
आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधै ओझेलमा परेको हुनाले उक्त क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साईकिलिष्टहरुलाई सहभागिता गराएर साईकल यात्रा गराएको हो।
यात्रामा सहभागिहरुलाई सम्मान गर्दै रुपन्देही क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले रुपन्देही, नवलपरासी र कपिलबस्तुको पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमहरुले ठुलो सहयोग पुगेको बताए। तीन जिल्लाको बौद्ध सर्किटलाई साईकलको माध्यमबाट जोड्ने राम्रो कार्यको सुरुवात भएको उनले बताए।
कार्यक्रममा लुम्बिनी सांस्कृतीक नगरपालिकाका मेयर सजरुद्धिन मुसलमान, लुम्बिनी बिकास कोषका बरिष्ठ सुचना अधिकृत राजन बस्नेत, लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली , सिद्धार्थनगर उधोग बाणिज्य संघका महासचिव कृष्ण घिमिरे लगायतले लुम्बिनीको आर्थिक चलायमान र मुलुकको आर्थिक बिकासका लागी लुम्बिनी भ्रमणका लागि आउने तेस्रो मुलुकको पर्यटकहरुलाई भिसा शुल्क अनिर्वाय गर्न सुझाव दिए।
सार्क मुलुकका पर्यटहरुको भिसा शुल्क निशुल्क हुँदा भारतीय ट्र्रार्भल्स व्यवसायीहरुले लुम्बिनीलाई बुद्ध सर्किटको एउटा साईटको रुपमा राखेर लुम्बिनी आएकै दिन फर्किने कार्यक्रम बनाउँदा नेपाली व्यवसायी र राज्य दुवै आर्थिक रुपमा बञ्चित हुन परेको उनीहरुको भनाई छ।
सोही दिन फर्किने पर्यटकको हकमा सरकारले सीमा नाकामा कम्तीमा तीन दिनको भिसा शुल्क लिनुपर्ने सहभागीहरुले सुझाव दिए। यस कार्यले सरकारलाई राजश्व वा होटल व्यवसाय संचालन हुनुपर्ने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीको भनाई छ।
भिसा शुल्क निशुल्क हुँदा भारतीय ट्र्रार्भल्स व्यवसायीहरुले लुम्बिनीलाई चार देखी ६ घण्टाको भ्रमण तालिकामा राखेर लुम्बिनी फोहर संकलन गर्ने स्थान र सरकारका लागि पर्यटक बढेको तथ्यांक देखिनेमा मात्रै सीमित भएको साईकल सिटी भैरहवाका अध्यक्ष सारु मगरको भनाई छ।

