
काठमाडौं,२१ फागुन। गृहमन्त्री रमेश लेखकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनकामा भुमिका खेल्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।
बुधबार बिहान गृहमन्त्री लेखकले मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववियू निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिए।
Advertisement

Advertisement
Advertisement

उनले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियू निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रह गरे।
‘प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वयका लागि टिम समेत गठन गर्न निर्देश गरेको छु’,गृहमन्त्री लेखकले भने,‘निर्वाचन हुने जिल्लामा आवश्यक समन्वयका लागि क्याम्पस प्रशासनलाई प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग समन्वय गर्ने वातावरण बनाइएको छ।’
त्यसका साथै नेपाल प्रहरीले स्ववियू निर्वाचनका लागि सशस्त्र प्रहरी बलसँग पनि समन्वय गर्ने गरी काम कारबाही अघि बढाउन निर्देशन दिइएको छ।
प्रहरी प्रमुखसित निर्वाचन सुरक्षाबारे जानकारी समेत लिँदै मन्त्री लेखकले स्ववियू निर्वाचनलाई आम निर्वाचन जत्तिकै गम्भीर रुपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए।

