


भैरहवा, २१ फागुन। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खराब मौसममा कारण अवतरण गर्न नमिलेको चिनको छेन्दुबाट आएको एयर चाइनाको विमान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको छ । काठमाडौंमा खराब मौसमका कारण अवतरण गर्न नमिलेको अन्तर्राष्ट्रिय वायुसेवाको विमान डाइर्भट भएर भैरहवामा अवतरण गरेको पहिलो पटक हो ।
बुधवार साँझ त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा विमान अवतरणका लागि हावाको गति अनुकूल नभएकोले एयर चाइनाको विमान डाइर्भट भएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।

उनले मलेसिया, भारत, कतार लगायत मुलुकका विमान देशबाहिरका विमानस्थलहरुमा डाइर्भट भएपनि खराब मौसमका कारण काठमाडौंमा अवतरण गर्न नमिलेको अन्तर्राष्ट्रिय विमान पहिलो पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताए ।
हावाको गति र प्रतिकूल मौसमका कारण दोहाबाट आएको कतार एयरवेजको विमान बंगलादेशको ढाकामा, दिल्लीबाट आएको इन्डीगो दिल्लीमा, एयर अरेबियाको विमान भारतको बनारस, मलेसियाबाट आएको मालिन्दो कोलकातामा डाइभर्ट भएको थियो।

