
दाङ, २२ फागुन । नेपालका लागि म्यानमारका राजदूत उ म्यो म्यिन्ट माउङले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
Advertisement

Advertisement
Advertisement

मुख्यमन्त्री आचार्यले नेपाल–म्यानमार विकास साझेदारीलाई अझ मजबुत बनाउँदै दातृ निकायहरुसँग सहकार्य गरेर प्रदेशलाई समृद्ध बनाउन पहल भइरहेको बताए । साथै, लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, मौलिक कला तथा संस्कृतिको समृद्धि रहेको र यी क्षेत्रहरूको प्रर्वद्धन तथा विकासका लागि म्यानमार सरकार तथा सम्बन्धित साझेदारहरुसँग सहकार्य गर्ने अपेक्षा रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल र म्यानमारबीच ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा व्यापारिक सम्बन्ध रहेको बताउँदै म्यानमार सरकारले लुम्बिनीमा चैत्य निर्माण गरी यहाँको विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे । ‘नेपाल र म्यानमारबीच धेरै आर्थिक, सामाजिक तथा साँस्कृतिक समानताहरु रहेका छन्, जसका आधारमा दुवै देशबीच विभिन्न क्षेत्रहरुमा सहकार्यलाई प्रर्वद्धन गर्न सकिन्छ’उनले भने,‘विशेष गरी, म्यानमारका बौद्ध धर्मावलम्बीहरुलाई लुम्बिनीमा सहज रुपमा आउन प्रेरित गर्न तथा दुवै देशबीच व्यापार र आर्थिक गतिविधि वृद्धि गर्न हवाई सम्पर्क स्थापना गर्नु आवश्यक छ ।’
नेपाल र म्यानमारबीच १९६० को मार्च १९ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै मुलुकबीच आपसी मित्रता र सहकार्य निरन्तर सुदृढ हुँदै आएको छ । बौद्ध धर्मावलम्बी बहुल राष्ट्र म्यानमार र गौतमबुद्धको जन्मस्थल नेपालबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्ध गहिरो छ ।
भेटमा कृषि, खाद्य सुरक्षा, पर्यटन र साँस्कृतिक क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने पर्याप्त अवसरहरु रहेको विषयमा छलफल भएको थियो । मुख्यमन्त्री आचार्यले कृषि तथा पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान साझा गर्दै दुवै देशलाई लाभान्वित गर्न सकिने बताए ।
राजदूत उ म्यो म्यिन्ट माउङले नेपाल र म्यानमार साँस्कृतिक तथा धार्मिक सम्बन्धले जोडिएको बताउँदै यो सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सकिने उल्लेख गरे । उनले गौतमबुद्धको जन्मस्थल लुम्बिनीले नेपाल–म्यानमार सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । साथै, म्यानमार सरकार लुम्बिनी प्रदेश सरकारसँग साझेदारी गर्न इच्छुक रहेको जानकारी दिए ।

