
भैरहवा, २७ फागुन। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र गण्डकी प्रदेशले जित निकालेका छन् । मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशमाथि १ सय ६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरुवात गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २ सय ८४ रनको बलियो योगफल बनायो। मधेशका लागि पवन सर्राफले ८५ बल खेलेर ११ चौका र २ छक्काको मद्दतले ९२ रन जोड्न सफल भए । यस्तै, ओपनर तथा कप्तान अनिलकुमार साहले १० चौकाको मद्दतले ७५ रन बनाए । दिपेश दासले नटआउट ६० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए। बलिङमा कोशीका विपिन महतो र प्रकाश कार्कीले समान २–२ विकेट लिए ।
Advertisement

Advertisement
Advertisement

२ सय ८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा १ सय १९ रन बनाउँदा अलआउट हुन पुग्यो। कोशीका लागि सकिब हकले २५ रन बनाए । ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए । बलिङमा मधेशका रुपेश सिंहले ९ ओभरमा २९ रन खर्चिएर ५ विकेट लिए । यस्तै, राजेश यादवले ३ विकेट हात पारे । पवन सर्राफ प्लेयर अफ द म्याच घोषित भए। प्रतियोगितामा कोशीको यो लगातार दोस्रो हार हो भने मधेशको पहिलो जित हो ।
यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गर्दै पहिलो जित हात पारेको छ । गण्डकीले जितका लागि पाएको ९२ रनको सामान्य लक्ष्य २९ ओभर १ बलमा ६ विकेट गुमाउँदै ९५ रन बनाएर जित हात पार्न सफल भयो। सहज लक्ष्य पाए पनि गण्डकीले सुरुवात कमजोर रह्यो । २१ रन जोड्दा ४ विकेट गुमायो । पहिलो क्रमका ३ खेलाडी समिर कँडेल बिना कुनै रन आउट भए । अर्जुन कुमाल र वंश क्षेत्री पनि समान ६ रन जोडेर प्याभेलियन फर्किए । लग्त्तै सुभाष भण्डारी पनि ४ रनमा आउट भए । यसपछि दीपक डुम्रेले सम्हालिँदै अविजित अर्धशतक प्रहार गर्दै टिमलाई जित दिलाए। उनले ७८ बल खेल्दै ७ चौकासहित अविजित ५० रन बनाए । सुजन गौतम अविजित २२ रनमा रहे । बलिङमा दीवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९१ रन बनायो । विपिन शाहीले सर्वाधिक २० रन बनाए । अर्जुन घर्तीले १७, विपिन रावतले १५ र हिमांशु शाहीले १२ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा गण्डकीका चन्द्र पौडेल, सुबाश भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिए । खेलमा दीपक डुम्रे प्लेयर अफ द म्याच भए ।

