
भैरहवा,४ चैत। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित निकालेका छन्। सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा ललितनारायण राजवंशीको ६ विकेटमा साबिक विजेता नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको पुलिस ४७ ओभरमा १ सय ६० रन बनाउँदा अलआउट भयो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दीलिप नाथले १९ र अमित श्रेष्ठले १८ रनको योगदान दिए। सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले ४, भोजराज भट्टले ३, शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए।
Advertisement

Advertisement
Advertisement

जवाफमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटिन पुग्यो। सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३२ रन, मिलन बोहराले २३ र टेक रावतले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पुलिसका लागि ललितनारायणले ७ ओभरमा १६ रन खर्चिएर ६ विकेट लिन सफल भए। सागर ढकालले २ तथा करण केसीले १ विकेट लिए।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार पाँचौ जित निकालेको छ। १ सय ४२ रनको लक्ष्य पाएको आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। आर्मीको जितमा कुशल मल्लले नटआउट रहँदै सर्वाधिक ३१, विवेक यादवले २६, सोमपाल कामीले अविजित २२ र बसिर अहमदले १३ रन योगफल बनाए। एपीएफका कप्तान रोहितकुमार पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले समान २–२ तथा किशोर महतोले १ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अलआउट भयो। उसका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन, किशोर महतो, अमरसिंह राउटेला र भुवन कार्कीले समान ११ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। आर्मीका लागि आकाश चन्दले ४, सोमपाल कामीले ३, शाहब आलमले २ र बसिर अहमदले १ विकेट लिए।
यस्तै, सोमबार नै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले मधेश प्रदेशमाथि ८३ रनको जित हात पारेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा अलआउट हुँदै १ सय ५८ रनको मध्यम योगफल बनायो। लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन, कृष्ण कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए। मधेशका लागि कमल गुप्ता र विशाल पटेलले समान ३–३ तथा हरिशंकर साह, प्रदीप पासवान र रञ्जित कुमारले समान १–१ विकेट लिए।
मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा अलआउट भयो । मधेशका लागि दीपेश दासले २३ र हरिशंकर साहले १४ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। लुम्बिनीका रमेश कुर्मीले ४, विप्रशन केसीले ३ तथा देव खनाल र अजय चौहानले समान १–१ विकेट लिए।

