
भैरहवा, ५ चैत। नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को ६ दरबन्दी रिक्त भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी दीपक थापालाई नियुक्त र पाँच जना एआईजी अनिवार्य अवकाशमा गएसँगै संगठनमा एआईजीको ६ दरबन्दी रिक्त भएको हो।
नेपाल प्रहरी एआईजीको आठवटा दरबन्दी छ। जसमध्ये आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ हाल कार्यरत छन्। रिक्त ६ पदका लागि प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु बढुवाका लागि लबिङमा लागेका छन्। प्रदेशमा रहेका डीआईजीहरु विदा लिएर काठमाडौंको शक्तिकेन्द्र धाउन थालेका छन्।
Advertisement

Advertisement
Advertisement

एआईजी बढुवाको लाईनमा रहेका डीआईजी चन्द्र कुबेर खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल ०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृत हुन्। पोखरेल बढुवामा छुट्दा खापुङ र आचार्य उनीभन्दा सिनियर हुन पुगेका छन्। खापुङ र आचार्य ०७९ चैत २९ गते बढुवामा सिफारिस भएका थिए भने पोखेरल ०८१ जेठ ४ गते डीआईजी बढुवामा पहिलो नम्बरमा सिफारिस भएका थिए।
खापुङ सीआईबी, आचार्य मधेस प्रदेश प्रहरी कार्यालय, र शर्मा बागमती प्रदेश प्रहरी प्रहरी कार्यालयमा कार्यरत छन्। संसदमा दर्ता भएको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा नआए ०५२ को टोलीबाट एक जना दुई महिना आसपास समयका लागि संगठनको कमाण्ड सम्हाल्ने सम्भावना छ।
त्यस्तो त संगठन प्रमुख आईजीपी कसलाई बनाउनेमा सरकारको निर्णयमा भर पर्छ। प्रहरी नियमावलीको दफा ४१ मा भनिएको छ–‘एआईजीहरुमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्न सक्नेछ।’
यस्तै एआईजी बढुवाका लागि ०५२ टोलीका पोखरेलसँगै डीआईजीमा बढुवा भएका ०५४ को टोलीका दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी लगायत एआईजी बढुवाका लागि दौडधुपमा छन्। कार्की लुम्बिनी प्रदेश, के.सी राष्ट्रिय प्रहरी प्रतिष्ठान, र अधिकारी कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत छन्।
०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभाग (रआवि) मा भर्ना भएर नेपाल प्रहरी सेवामा प्रवेश गरेका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, सिद्धिविक्रम शाह, डम्बरबहादुर विक र हिमालयकुमार श्रेष्ठ पनि बढुवाको प्रतिस्पर्धामा छन्। रआविबाट नेपाल प्रहरीमा समायोजनपछि ०६४ पुसमा डीएसपी दर्जामा बढुवा भएका उनीहरु गत मंसिर ९ गते एसएसपीबाट डीआईजी बढुवामा सिफारिस भएका थिए।
०५४ का भर्ना भएका दान बहादुर कार्की सहितको टोली ०६६ मंसिर १६ मा डीएसपी बढुवा भएको थियो। अर्थात डीएसपी दर्जामा ०५३ को टोली पछि उनीहरु बढुवा भएका थिए। ०७९ असार २५ मा एसपीबाट एसएसपीसँगै बढुवा भएका दुवै टोलीका अधिकृतहरु मध्ये ०८१ जेठ ४ मा डीआईजी बढुवामा राअविबाट आएका सिनियर टोलीलाई पाखा लगाउँदै कार्की, केसी र अधिकारी बढुवा हुन सफल भए।
रवि लामिछाने गृहमन्त्री भएको बेला कार्की, केसी र अधिकारी लामिछाने निकट भएको कारण डीआईजीमा बढुवा भएको आरोप छ। कार्की र केसी भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकृत हुन्।
यस्तै डीआईजी दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलियाहरु पनि एआईजी हुने लाइनमा छन्। राजनीतिक हस्तक्षेपले ग्रसित भएको नेपाल प्रहरीको एआईजी बढुवामा सरकारको नेतृत्वकर्ताहरुलाई पनि सकस परेको छ।

